लेस्टर सिटीका मालिक भिचाइ श्रीभदधनप्रभाको हेलिकप्टर दुर्घटना भएको छ।

शनिवार राति लेस्टर सिटी र वेस्ट ह्याम युनाइटेडबिच भएको खेलपश्चात सो घटना भएको जनाइएको छ। लेस्टर र युनाइटेडबिचको खेल एक एकको बराबरीमा टुंगिएको थियो।

प्रत्यक्षदर्शीहरुका अनुसार खेल सकेको एक घण्टापश्चात भिचाइको हेलिकप्टर किङ पावर स्टेडियमबाट उडेको र लगत्तै दुर्घटनामा परेको बताएको टेलिग्राफले उल्लेख गरेको छ। हेलिकप्टर नजिकैको कार पार्किङ स्थलमा दुर्घटनामा परेको थियो।

हेलिकप्टरमा रहेका मानिसहरुका बारेमा आधिकारिक सूचना सार्वजनिक गरिएको छैन। यद्यपी,उक्त हेलिकप्टरमा लेस्टर सिटीका ६० वर्षे अध्यक्ष रहेको स्रोतहरुले बताएको बीबीसीले जनाएको छ।

दुर्घटना लगत्तै क्ल्बका खेलाडी र सुरक्षाकर्मीहरु घटनास्थल तर्फ भागेका थिए। घटस्नास्थल पुगेका खेलाडी र कर्मचारीहरुबीच रुवाबासी नै चलेको जनाइएको छ।

करिब २० मिनेटपश्चात मात्रै आगो नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक रिपोर्टका अनुसार प्राविधिक त्रुटिका कारण दुर्घटना भएको अनुमान गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिचाइको अध्यक्षतामा लेस्टर सिटीले सन् २०१६ को प्रमियर लिगको उपाधि जितेको थियो। एजेन्सी