काठमाडौं। अर्थ मन्त्रालयले ७६ जना उपसचिवको सरुवा गरेको छ। अर्थ मन्त्रालय मातहत विभिन्न कार्यालयमा उपसिचवहरुको सरुवा गरिएको हो। मन्त्रालयले दुई वर्ष एउटै कार्यालयमा रहेका उनीहरुलाई सरुवा गरेको जनाएको छ।

अर्थ मन्त्रालयले केन्द्रीय बजेटका उपसचिव ईश्वरी अर्याललाई धनगढी भन्सार कार्यालय पठाएको छ। रसुवाका गोपाल कोइराला भन्सार जाँचपास परीक्षण कार्यालय ल्याइएका छन्। आन्तरिक राजस्व कार्यालय बालाजुमा काजमा रहेका ईन्द्र देवकोटालाई त्यहीँ राखिएको छ।

अर्थ मन्त्रालयका रामप्रसाद मैनाली आन्तरिक राजस्व कार्यालय नयाँ सडक पठाइएका छन्। दुई वर्षअघि ठुला करदाता कार्यालय गएका नारायण ढकाल फेरि अर्थ मन्त्रालय फर्किएका छन्।

तत्कालीन संरचनाअनुसार आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १, २ र ३ मा कार्यरत उपसचिवहरुको दरबन्दी पनि यही सरुवामार्फत मिलान गरिएको छ। तीनवटा राजस्व कार्यालय गाभेर सरकारले मध्यमस्तरीय करदाता कार्यालय बनाएको थियो।

असोज १५ गते नै उपसचिवको सरुवा टुंगो लगाउनु पर्ने भए पनि अर्थ सचिव डा। राजन खनाल अस्वस्थ भई अस्पताल भर्ना भएपछि सरुवा रोकिएको थियो।