काठमाडौं ।
करिब तीन बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा मालपोत र लुम्बिनी ग्यास उद्योग प्रालि, नवलपरासीका कर्मचारीसहित करिब एक दर्जनविरुद्ध मुद्धा दायर भएको छ।

गुल्मीको सरावल गाउँपालिका–१ स्थित करिब तीन बिघा सार्वजनिक जग्गाको कागजात किर्ते गरी बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

गुल्मीको जयखानीका दीपक सुनारले ५५ कठ्ठा सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीसहितको मिलेमतोमा लुम्बिनी ग्याँस उद्योग प्रालिलाई विक्री अनुसन्धानमा खुलेको थियो ।

सुनारसहित मालपोत कार्यालय परासीका अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भुषाल, कम्प्युटर अपरेटर एजाज खाँ, विचौलिया यादबप्रसाद भन्डारी, ग्याँस कम्पनीका प्रतिनिधी सुरेन्द्रराज भन्डारी र सुदन श्रेष्ठविरुद्ध मुद्धा दायर भएको हो। पन्थी, भुषाल र खाँविरुद्ध दुई करोड ८६ लाख ५२ हजार विगो माग गरिएको छ।

यसैगरि सुरेन्द्रराज भन्डारी र श्रेष्ठविरुद्ध पनि एकमुष्ट त्यति नै रकम विगो माग गरिएको अख्तियारले जनाएको छ। यादबप्रसाद भन्डारी र मुख्य योजनाकार सुनारविरुद्ध जनहीँ दुई करोड ८६ लाख ५२ हजार रुपैयाँ विगो माग गरिएको छ। विक्री गरिएको उक्त जग्गा भएको ठाउँको न्युनतम सरकारी मुल्यांकन अनुसार कठ्ठाको पाँच लाख २० हजारका दरले विगो कायम गरिएको हो।

सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याइँदा सम्पुर्ण कागजात मालपोतका कर्मचारीले तयार गरिदिएका थिए। नक्कली जग्गा भन्ने थाहा हुँदाहुँदै पनि खरिद गरेका कारण ग्याँस कम्पनीका प्रतिनिधी सुरेन्द्रराज भन्डारीविरुद्ध मुद्धा चलाईएको अख्तियारले जनाएको छ।