एजेन्सी
श्रीलंकाको राजनीतिक संकट गहिरिँदै गएको छ। एकै समयमा दुई जनाले आफूलाई प्रधानमन्त्री दाबी गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीतिक संकट बढेको हो।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गरेर शुक्रबार पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । विक्रमासिंघेले राष्ट्रपतिको कदम असंवैधानिक भन्दै प्रधानमन्त्रीबाट हट्न अस्वीकार गरेका छन्।

अहिले पनि उनी प्रधानमन्त्री निवास टेम्पल ट्रीमै बसिरहेका छन्। श्रीलंकामा कार्यकारी राष्ट्रपति र सीमित अधिकार भएका प्रधानमन्त्रीको संवैधानिक व्यवस्था छ। तर पछिल्लो पटक संशोधित संविधानमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई स्वेच्छाले हटाउन सक्ने प्रावधान छैन। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा मात्र राष्ट्रपतिले आफूलाई हटाउन सक्ने दाबी विक्रमासिंघेले गरेका छन्।

उनले संसदमा आफ्नो पक्षमा बहुमत कायम रहेको भन्दै त्यसको पुष्टि गर्न विश्वासको मत लिने प्रक्रिया अघि बढाउन माग गरेका छन्।

विक्रमासिंघेले संसदमा आफ्नो बहुमत पुष्टि गर्न खोजेपछि राष्ट्रपति सिरिसेनाले संसद अधिवेशन नोभेम्बर १६ सम्मका लागि स्थगित गरिदिएका छन्।

नवनियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसदमा बहुमत पुर्‍याउन सजिलो होस् भनेर अधिवेशन अन्त्य गरिएको अनुमान धेरैको छ। आउने दुई हप्ता श्रीलंकामा सांसदहरूको खिचातानी हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

विक्रमासिंघेका पार्टीका एकजना सांसदले आफूले अब राजापाक्षेलाई समर्थन गर्ने बताएका छन्। उनले आफूजस्तै २० जना सांसद आफूसँग रहेको दाबी गरेका छन्।

सन् २०१५ को राष्ट्रपतीय र संसदीय चुनावमा सिरिसेना र विक्रमासिंघे दुबैले राजापाक्षेविरूद्ध गठबन्धन बनाएका थिए। त्यो बेला श्रीलंकाको राजनीतिमा बलिया मानिएका राजापाक्षे राष्ट्रपतिमा हारे भने उनको श्रीलंकन फ्रिडम पार्टी संसदमा बहुमत ल्याउन असमर्थ भयो।

त्यसपछि सिरिसेना राष्ट्रपति बने भने उनीहरूको गठबन्धनबाट विक्रमासिंघे प्रधानमन्त्री चुनिए।

श्रीलंकाको संसदीय चुनावमा विक्रमासिंघे र सिरिसेनाको गठबन्धनले संसदको २२५ मध्ये १०६ स्थान जितेका थिए भने राजापाक्षेको पार्टीले ९५ स्थान जितेको थियो। तमिल पार्टीहरूले १६, जनता भीमुक्ति पेरामुनि ९जेभिपी०ले ६ सिट जितेको थियो।