काठमाडौं ।
चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्व अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

डा. श्रेष्ठले पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी प्रमाणित १ वर्ष कैद तथा १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

२०५४ सालमा विशेषज्ञ चिकित्सकको रुपमा क्यान्सर अस्पताल प्रवेश गरेका थिए । क्यान्सर रोगका राम्रा विशेषज्ञ मानिने श्रेष्ठ २०६४ देखि २०६७ सम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए ।

अस्पतालमा प्रवेश गरेदेखि सेवामा रहँदासम्म श्रेष्ठले अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । श्रेष्ठले पदमा रहँदा १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ अवैध रुपमा आर्जन गरेको अख्तियारले अभियोग लगाएको थियो ।

श्रेष्ठले २०६३ देखि २०६५ सालसम्म १५ लाख २७ हजार रूपैयाँ आर्जन गरेकोमा कार्यकारी निर्देशक हुँदा ३ वर्षको अवधिमै अवैध रुपमा ५० लाख रुपैयाँ आर्जन गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको थियो ।

अनुसन्धानबाट श्रेष्ठले घर निर्माणमा कूल ४४ लाख ५४ हजार र जग्गा खरिदमा ६५ लाख ८५ हजार खर्च गरेको भेटिएको अख्तियारले जनाएको छ । श्रेष्ठका नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको पनि अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।