काठमाडौं,
उखु किसानको रकम भुक्तानी गर्न अटेर गरेको आरोपमा व्यापारी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

किसानको झण्डै ४६ करोड रुपैयाँ नतिरेका अग्रवालले किसानहरुको जाहेरीका आधारमा अग्रवाललाई बिहान प्रहरीले काठमाडौंको त्रिपुरेश्वरस्थित उनको निवासबाट पक्राउ गरेको हो ।

किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो । दुवै मन्त्रालयको आग्रह बमोजिम गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा व्यापारी अग्रवाललाई किसानहरुको पैसा तिरिदिन पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि पक्राउ गर्न गृहले निर्देशन दिएको हो ।

अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्राली नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्राली सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको गृहमनत्रालय श्रोतले जनाएको छ । काठमाडौ प्रहरीले अग्रवाललाई आजै जिल्ला पठाउने तयारी गरीरहेको छ ।