इटलीको ऐतिहासिक शहर भेनिसमा लगातार पानी परेपछि बाढी पसेको छ ।

जलमार्गका लागि विश्वविख्यात भेनिसका अनेकौं क्षेत्रमा पाँच फीटसम्म पानी भरिएको छ । यसो भएपनि मंगलवार शहरमा मानिसले म्याराथन दौडमा भाग लिए ।

शहरको तीन चौथाइ भाग डुबेको भएपनि धावकहरूले यसरी जोश देखाएकोमा संसारभरि चर्चा चलेको छ ।

म्याराथनको मिति पहिले नै घोषणा भइसकेको थियो । मानिसहरू यसमा भाग लिन उत्सुक थिए । तर सोमवार भारी वर्षा र उच्च लहरका कारण शहरमा पानी पस्यो ।

यस्तो स्थितिमा प्रशासनले उच्च सतर्कताको घोषणा गरिदियो । तर घुँडा घुँडासम्म पानी आएपनि धावकहरूले उत्साह देखाउँदै दौडमा भाग लिए ।

प्रशासनले धावकहरूलाई गहिरो पानीमा नजान चेतावनी दिएको थियो । अनि धावकहरूका लागि विशेष व्यवस्था समेत गरिएको थियो ।

पुरुषतर्फ इथियोपियाका धावक मेकुआन्त गेब्रेले २ घन्टा १३ मिनेटमा दौड पूरा गरे । महिलातर्फ केन्याकी एन्जेला तनुईले २ घन्टा ३१ मिनेटमा दौड पूरा गरिन् ।

एजेन्सी