काठमाडौं । काठमाडौं विश्वविद्यालयमा नेविसंघले लगाएको ताला झण्डै एक महिनापछि खुलेको छ । विद्यार्थी कल्याण परिषदको चुनाव गराउन माग गर्दै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको थियो ।

मंगलबार साँझ भएको वार्तामा १५ दिनभित्र चुनावको मिति तोक्ने सहमतिपछि ताला खुलेको काठमाडौं विश्वविद्यालयका नेविसंघ सभापति उज्ज्वल प्रधानले जानकारी दिए ।

नेविसंघले विद्यार्थी कल्याण परिषदको चुनाव प्रत्यक्ष प्रणालीबाट गराउनका लागि विधान संशोधनको माग गर्दै आएको थियो । हाल हरेक कक्षाबाट एक जना प्रतिनिधि चुनिने र उक्त प्रतिनिधिहरुले परिषद्को अध्यक्ष निर्वाचित गर्ने विधानमा व्यवस्था छ ।

काठमाडौं विश्वविद्यालयमा गत असोज २१ गते नै विद्यार्थी कल्याण परिषदको चुनाव हुनुपर्ने भएपनि अझै हुन सकेको छैन । त्यसैले नेविसंघले तालाबन्दी गरेको थियो ।