काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी गरे।

बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ। लोकतन्त्रका मूल्यरमान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेको दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।

२ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्र्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ। संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समिक्षा हुने पनि जानकारी दिए।

महाधिवेशनको तयारी गर्न संघीय बैठक बोलाइएको नयाँ शक्तिले जनाएपनि तोकिएको समय आगामी फागुनमा महाधिवेशन गर्न तयारी पुरा नभएको पार्टीले जनाएको छ।

२०७५ को चैत्र महिनाभित्र स्थानीय अधिवेशन, २०७६ को बैशाख, जेष्ठ र आषाढभित्र ८ वटै प्रादेशिक अधिवेशन र २०७६ को मंसिरदेखि फाल्गुनभित्र पर्ने गरी संघीय महाधिवेशनको उपयुक्त मिति निर्धारण गर्नु उचित हुने डा.भट्टराइद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख छ।