७६ लाख २८ हजार विगो माग

काठमाडौं ।
जनकपुरधामस्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा भ्रष्टाचार भएको प्रमाण भेट्टिएपछि परिषद्का पूर्व अध्यक्ष दिगम्बर रायसहित १० जना विरुद्ध मुद्दा दायर भएको छ। परिषदमा भ्रष्टाचार भएको प्रमाणसहित उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण लगायतका काम गर्न परिषदले विभिन्न आठवटा ठेक्का लगाएको थियो ।
ठेक्का लगाउने क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालीन दुई कार्यकारी निर्देशक, प्रोजेक्ट इन्जिनियर र ठेकेदारका दुई जना प्रतिनिधि विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ।

भारतीय सरकारको सहयोगमा यी कामहरु गर्नसञ्चालित परिषदमा आठवटा परियोजनामध्ये पाचँवटा बोलपत्रको मूल्याङ्कन गर्दा लागत अनुमानभन्दा ३० प्रतिशत भन्दा बढी बढेको कारण देखाई कुल ७६ लाख २८ हजार ५ सय २ भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ।

‘बृहत्तर जनकपुर क्षेत्र विकास परिषद नियमावली, २०५८ को नियम १५.९ को उपनियम ४ बमोजिम बोलपत्र अमान्य हुने जनाई मूल्याङ्कन प्रक्रियामा समावेश नै नगरी बदनियतपूर्ण बोलपत्र स्वीकृत गरेको देखियो ।,’ आयोगको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले ठेक्का नम्बर १ मा ९ लाख ८५ हजार ८ सय ३८, ठेक्का नं. २ मा ३ लाख ५४ हजार ९५ गरी कुल ७६ लाख २८ हजार ५ सय २ रुपैयाँ भ्रष्टाचार भएकाले असुल हुनपर्ने दाबी गरेको छ।