पोखरा ।पोखरा पल्टन पोखरा प्रिमियर लिग(पीपिएल क्रिकेटको फाइनलमा पुगेको छ। राउन्ड रोबिन लिगको समाप्तीमा शीर्षस्थानमा रहेपछि पोखरा फाइलन पुगेको हो।

पोखरासँग समान अंक भएपनि काठमाडौँ रोयल्स र चितवन राइनोज एलिमिनेटरका लागि छनोट भए। ६ अंक भएपनि नेटरनरेटमा चौथो स्थानमा रहेपछि एक्सपर्ट धनगढी पहिलो चरणबाटै बाहिरिएको छ।

एलिमिनेटरको विजेता फाइनल पुग्ने छ। यो खेल आइतबार हुने छ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चितवनले जित्नैपर्ने दबाबमा शनिबार विराटनगर टाइटन्सलाई चार विकेटले हरायो।

विराटनगर टाइटन्सले चितवन राइनोजलाई १४६ रनको लक्ष्य दिएको थियो। चितवनले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। चितवनका सन्नी पटेलले अविजित ५१ रन बनाए। उनले २४ बलमा चार छक्का र चार चौका हिर्काए। आरिफ शेखले पनि ३५ रन जोडे। विराटनगरका सन्दीप लामिछानेले चार विकेट लिए। उनले १९ औँ ओभरमा १८ रन खर्चिएका थिए।

यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ४५ रन जोड्यो। विराटनगरका मोहम्मद जैद आलम ५१ रनमा आउट भए। सुनिल धमलाले ४७ रन बनाए।

विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो। आलमले ४७ बलमा दुई छक्का र दुई चौका प्रहार गरे। धमलाले ४४ बलमा ७ चौका हिर्काए।