Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

ललितपुर ।
शान्त, सुन्दर र हरिया डाँडाकाँडा देखिन्छन्, वरपर । अनि सँगै देखिन्छन्, सेता हिमाल लहरै । डाँडामा पुग्दा पारिलो घाम लाग्छ । घामसँगै सिरसर हावा चल्छ । तलतिर सर्लक्क देखिन्छ, काठमाडौं उपत्यका । पछिल्लो समय लोभलाग्दो गन्तव्य बन्न थालेको छ ललितपुरको कोटडाँडा ।

के छ कोटडाँडामा ?

कोटडाँडामा साइक्लिङ गर्न सकिन्छ । पछिल्लो समय साइक्लिङ प्रसिद्ध बन्न थालेको छ । जंगलको आसपासमा साइक्लिङ गर्दाको मज्जा नै बेग्लै हुन्छ । डे हाइकिङका लागि पनि यो प्रसिद्ध छ । तर, डे हाइकिङका लागि साथमा पानी र खाना बोक्नुपर्छ । अनि, साथमा लाइटर र टिस्यु पेपर भए झनै राम्रो ।

रातमा क्याम्पिङ गर्न मज्जा हुने कोटडाँडा एग्रो रिसोर्टका सञ्चालक योरजंग कार्कीको भनाइ छ । उनको भनाइमा काठमाडौं र ललितपुरवरपरको जंगल, हिमालको रोमाञ्चक दृश्यावलोकन गर्दै क्याम्पिङ साँच्चिकै रमाइलो हुन्छ । स्थानीय कला र संस्कृतिले सम्झनलायक छ, कोटडाँडा । कोटडाँडाको बाख्रा र कुखुरापालन सहरी केटाकेटीका लागि पाठ हुन सक्छ ।

कसरी पुगिन्छ ?

कोटडाँडा काठमाडौंबाट १९ किमिको दूरीमा पर्छ । ग्राभेल र पिच दुवै खालको बाटो छ । मोटरसाइकल, स्कुटर र अन्य निजी कारबाट सजिलै पुग्न सकिन्छ । टीका भैरव हुँदै कोटडाँडा पुगिन्छ । टीका भैरवबाट करिब तीन किमि टाढा पर्ने कोटडाँडा झन्डै दुई घन्टा पैदलमा पुगिन्छ ।

कति खर्च लाग्छ ?

कोटडाँडा एक रात बसाइका लागि खासै खर्चिलो छैन । यहाँ कोटडाँडा एग्रो रिसोर्ट पनि छ । रिसोर्टले प्याकेज दिएको छ २३ सय रुपैयाँको । त्यसमा १० प्रतिशत सेवा शुल्क थपिन्छ । प्याकेजमा कोठा, बिहानको ब्रेकफास्ट र बेलुकीको खाना संलग्न छ ।