२ करोड बढि अकुत कमाएको आरोप

काठमाडौं ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  अबकास प्राप्त सहायक वन अधिकृत सरकारी सेवामा रहँदा स्रोत नखुलेको अकुत सम्पत्ति १ करोड ९१ लाख रूपैयाँ आर्जन गरेकोले उनीविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा चलाएको हो।

पूर्व सहायक वन अधिकृत सिंह र उनको परिवारका सदस्यहरूको चलअचल सम्पत्ति, शेयर लगानी, बीमा, बैंक मौज्दात हिसाब गर्दा ३ करोड ५१ लाख ८२ हजार रहेको आयोगले जनाएको छ । त्यसमध्ये सिंहको वैध आय १ करोड ६० लाख २१ हजार अठार रूपैयाँ देखियो। बाँकी १ करोड ९१ लाख ६१ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको दाबी छ।

सार्वजनिक सेवाको पदमा रहेर सिंहले गैरकानुनी रूपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू श्रीमती गीतादेवी सिंह, छोराहरू अनुप कुमार सिंह र अचलकुमार सिंहको नाममा राखेको आयोगको अनुसन्धानमा खुलेको छ ।