काठमाडौं । क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे पुनः छलफल सुरु गरेको छ । क्याबिनेटको निर्णय लुकाइएको भन्दै सरकारको सार्वजनिक आलोचना बढेपछि आज मन्त्रिपरिषदले क्याबिनेट बैठकको निर्णय कसरी र कहिले सार्वजनिक गर्ने भन्नेबारे छलफल सुरु गरेको हो ।

गत विहीबार दिउँसो बोलाइएको क्याबिनेट बैठकका प्रस्तावहरु बैठकपूर्व मन्त्रीहरुलाई उपलब्ध गराइएको छैन ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ताले मिडियालाई जानकारी नगराएपछि सरकारको आलोचना भएको थियो । क्याबिनेटका निर्णयहरु तत्काल सार्वजनिक नगरिने सरकारका वक्ता गोकुल बास्कोटाले पत्रकारहरुलाई बताएका थिए । तर, केही मन्त्रीहरुले अनौपचारिक रुपमा भने निर्णयहरुबारे जानकारी दिएपछि मिडियामा समाचार प्रकाशित भएका थिए ।

आइतबारको बैठकले भारत र मलेसियामा नयाँ राजदूत सिफारिसलगायतका निर्णयहरु गरेको थियो ।