काठमाडौं–घुस लिँदा लिँदै रंगेहात समातिएका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राई धरौटीमा रिहा भएका छन् । उनलाई बिहिबार विशेष अदालतले १ लाख ४० हजार रुपियाँ धरौटी माग्दै रिहा गरेको हो ।

उनीलाई सोही बराबरको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको थियो । आयोगले डिएसपी राई विरुद्ध बुधबार दायर गरेको भ्रष्टाचार मुद्धामा सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीसँग घुस रकम बराबरको धरौटी माग गर्दै रिहा गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएकाले सोही उपदफाको (घ) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए।