काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोमवारदेखि शुरू गरेको छ ।

पाँचथरको फिदिममा आयोजित राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ राष्ट्रिय समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १ सय १ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रम शुरू गरे ।

पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरूआत गरिएको छ ।

‘नेपालमा डिजिटलाइजेसनका लागि आजको दिन ऐतिहासिक दिन हुने विश्वास लिएको छु,’ गृहमन्त्री थापाले भने, ‘३ वर्षभित्र सबै जिल्लामा यसको वितरण सुरू गरिसक्ने लक्ष्य गृह मन्त्रालयले लिएको छ ।’

सोमवारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण संकलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

सरकारले आगामी ३ वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ ।