काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । करिब एक महीनादेखि बस्न नबसेको बैठक यही ६ गते बस्ने तयारी गरिएको हो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले यही ६ मंसिरमा सचिवालयको बैठक बस्ने तथा त्यसले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने तयारी भएको जनाएका हुन् ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।
यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो ।

नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो । सो बैठकले केन्द्रीय सदस्यको कार्य्विभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो ।