काठमाडौं । अभिनय तथा नृत्यमा पारंगत अभिनेत्री पूर्णिमा लामा समाजसेवामा समेत सक्रिय छन् । दोलखा, भिमेश्वर–१० मा जन्मे, हुर्केकी उनमा आफ्नो कामप्रति लगनशीलताका साथ लाग्ने स्वभाव छ । सानै उमेरदेखि मोडल तथा अभिनेत्री बन्ने रुचि राख्ने लामा अभिनयमा आफूलाई क्रियाशील राख्दै आएको बताउँछिन् ।

उनले भनिन्, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु । यही क्षेत्रमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ उनले मानव जीवन भनेको संघर्ष, मिहिनेत र परिश्रम गर्दै गएपछि सफलताको शिखर चढ्न सकिने भनाइ राखिन् । उनी भन्छिन्, ‘कला जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो ।’

मिस एञ्जेलको उपाधि हात पारेलगतै कलाकारितामा प्रवेश गरेकी लामाले चलचित्र ‘परदेशी’ बाट रंगीन पर्दामा छाउन सुरु गरेकी हुन् । उनले हिरोज, रेलिमाई, नेप्टे, बन्धन लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । उनले त्यतिनै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

समाजसेवामा रुचि राख्ने लामाले फेथ नेपाल नामक संस्थामार्फत महिला हिंसाविरुद्ध र सडक बालबालिकाको उत्थानका लागि काम गर्दै आइरहेकी छन् । हिमश्री फिल्मस्को ब्यानरमा निर्माणधीन चलचित्र ‘शिवा’ मा मुख्य अभिनेत्रीको लागि उनी अनुबन्धित भएकी छन् ।