काठमाडौं। नेपाल प्रहरीलाई संघिय संरचनामा लैजाने तयारी भइरहेको छ । संघीय संरचना अन्तर्गत काठमाडौं उपत्यकालाई केन्द्रीय प्रहरीमातहत राख्ने गृह मन्त्रालयको प्रस्ताव छ ।

केन्द्रीय राजधानीमा केन्द्र सरकारसँग जोडिएका विषय धेरै भएकाले केन्द्र सरकारमातहत नै राख्न प्रस्ताव गरिएको हो । गृह मन्त्रालयले रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय प्रहरी ऐनको मस्यौदामा काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्रीय प्रहरीमातहत राख्ने प्रस्ताव गरिएको छ ।

संविधानमा पनि केन्द्र शासित भूगोलको परिकल्पना गरिएको छ । पूर्वआइजिपी कुबेरसिंह राना अध्यक्षताको कार्यदलले पनि महानगरीय प्रहरीलाई केन्द्रीय प्रहरीमातहत राख्न सुझाब दिएको हो । उपत्यकाको सुरक्षामा अहिले प्रदेश ३ को सरोकार छैन । प्रदेश ३ का अन्य जिल्लामा प्रदेश ३ का प्रहरी प्रमुखको कमान्ड चल्छ भने उपत्यकामा डिआइजीको कमान्डमा छुट्टै महानगरीय प्रहरी कार्यरत छ ।

छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा केन्द्रीय प्रहरी खटाइएको छ । सोही कारण त्यहाँ प्रदेश सरकार र केन्द्रीय प्रहरीबीच विवादसमेत हुने गरेको छ ।