काठमाडौं । दशैंको मुखमा मूलपानीको एक जुवाखालमा छापा हान्ने क्रममा असावधानी अपनाउँदा दुई जुवाडेको मृत्यु भयो । बाँकी जुवाडेलाई प्रहरीले पक्राउ गरी दशैंभरी थुनामा राख्यो । प्रहरीकै कारण दुई जनाले ज्यान गुमाउँदा पनि ठूलो काम गरेको भन्दै काठमाडौं प्रहरीले प्रेस बिज्ञप्ति समेत निकाल्यो ।

गत शनिबार बेलुका अर्कौ ठूलो जुवा खालमा प्रहरीले छापा हान्यो । बत्तीसपुतलीमा गतवर्ष मात्र खुलेको मिराज इन लर्ड नामक होटलमा छापा हानिएको थियो । जहाँ १३ जना व्यापारीहरु सात लाख भन्दा धेरै नगदसहित पक्राउ परे ।
पक्राउ परेका व्यापारीहरु नियमित रुपमा जुवाका लागि पुग्दथे । सानातिना होटलमा जुवा खेल्दा पक्राउ पर्ने भएकाले उनीहरुले राम्रो होटल रोजेका थिए । तर, सुराकीका कारण उनीहरु पक्राउ परे । खालबाटै सात लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।
अचम्म के भने प्रहरीले जुवाडेहरुको नामसमेत सार्वजनिक गरेको छैन । काठमाडौं परिसरका एसएसपी बसन्त लामाले नाम पछि सार्वजनिक गर्ने भनेर पत्रकारलाई जानकारी दिए तर नाम गोप्य राखियो । आफूहरुको बेइज्जत हुने भन्दै पक्राउ परेका व्यापारीले नाम लुकाउन प्रहरीलाई प्रभावमा पार्न सफल भए । सोही कारण यस विषयमा बिज्ञप्ति पनि निकालेन ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा मनोजकुमार चित्लांगे, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरवकुमार अग्रवाल, सुरेशकुमार कालान, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेमानी, जयदिनकुमार अग्रवाल र मनोजकुमार टिट्वाल छन् । उनीहरु सबै धनाढ्य व्यवसायी हुन् । नियमित रुपमा जुवा खेल्दै आएका छन् । उनीहरुमध्ये एक व्यक्तिले खेलाउने गर्दथे । तर, खेलाउने व्यक्तिमाथि पनि अनुसन्धान गरिएको छैन । होटल सञ्चालकको समेत त्यसमा मिलमेतो भएपनि उनलाई पनि पक्राउ गरिएको छैन ।

त्यतिमात्र होइन एक हप्ताभित्रै उनीहरुको मुद्दा अनुसन्धान पूरा गरी पेश गर्न लागिएको छ । आर्थिक चलखेलकै आधारमा एसएसपी लामाले छिटो मुद्दा बुझाउन गौशाला वृत्तलाई दबाब दिएको स्रोत बताउँछ ।
ती जुवाडेलाई छिटो छुटाउन केहीले डीआइजी शैलेश थापा क्षेत्रीलाई समेत प्रस्ताव लिएर गएका छन् । वृत्तदेखि महानगरीय प्रहरी कार्यालयसम्म सेटिङ मिलाएर जुवाडे व्यापारीहरु एक सातामै छुट्ने प्रयासमा छन् ।
प्रहरीले सार्वजनिक अपराधमा पक्राउ परेका व्यक्तिलाई २४ दिन अगाडि छाड्दैन । किनकि उनीहरुबाट खासै आम्दानी हुँदैन । तर, जुवा मुद्दामा पक्राउ पर्नेहरु केही दिनमै छुट्छन् । पेशेवर जुवाडेको प्रहरीसँग सेटिङ हुने भएकाले छिट्टै छुट्ने गरेका छन् । (दृष्‍टि)