काठमाडौं । जगदम्बा स्टिलले गुणस्तरहीन फलामे छड उत्पादन र वितरण गरेर बिक्री वितरण गरेको खुलेको छ । घर बनाउँदा प्रयोग हुने जगदम्बाका फलामे छड पटक–पटक भाँच्चिने गरेको गुनासो सबैतिरबाट आउन थालेको छ ।
घर बनाउँदा प्रयोग हुने छड बङग्याउँदा भाच्चिने गरेको उपभोक्ताको गुनासो छ ।

यसविषयमा कम्पनीले समेत स्विकार गरेर एक उपभोक्तालाई क्षतिपूर्ति दिएको र कहीँ उजुरी नगर्न सहमति गरेको खुलेको छ । आकर्षक विज्ञापनमार्फत उपभोक्ताको आखामा छारो हाल्न सफल जगदम्बा स्टिलले फलामे छड गुणस्तरहीन भएको प्रमाणित भएपछि कम्पनीले लाखौंको क्षतिपूर्ती तिर्न बाध्य भएको हो । धादिङको साविकको त्रिपुरेश्वर–४ खहरे तथा हालको त्रिपुरासुन्दरी–७ का किरण धरेललाई कम्पनीले गुणस्तरहिन फलामे छड दिएको वापत सात लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । उनले राजधानीको गोंगबुमा निर्माणधिन रहेको घरमा प्रयोग गरेका जगदम्बाका फलामे छड गुणस्तरहिन पाइएको थियो ।

कम्पनीका म्यानेजर नै धरेलको निर्माणधिन घरमा पुगेर फलामे छड भाच्चिएको देखिएपछि गल्ती भएको स्विकार गरेका हुन् । छड निर्माण गर्दा कुनै कुनै लटमा त्यस्तो समस्या आउने स्वीकार गर्दै उनले प्रयोग भएको छडको पैसा नलिने र बाँकी छड फिर्ता लैजाने बताए । सुरुमा प्रयोग भएको छडको पैसा नलिने र बाँकी छड फिर्ता लैजाने गरी प्रस्ताव ल्याएका थिए जगदम्बाको म्यानेजरले । धरेलले हात्तीपाइले ननिकाल्ने तर डिपिसी भत्काउने र त्यसमा प्रयोग भएको बालुवा, सिमेन्ट, मजदुरको ज्याला आदि क्षतिपूर्ति दिन माग गरे ।

त्यसबाहेक धरेलले मजबुतीको सुनिश्चितताको अर्को महत्वपूर्ण माग राखे । त्यसपछि जगदम्बाले कानुनी उपचार नखोज्ने शर्तमा धरेलको सम्पूर्ण मागलाई स्वीकार गर्यो । सिमेन्ट, बालुवा तथा मजदुरको ज्याला गरी जगदम्बाले धरेललाई हालको मूल्यमा करिब ७ लाखको क्षतिपूर्ति दिएको धरेलले बताए ।

जगदम्बाले जमलमा रहेको एक इन्सुरेन्स कम्पनीमा धरेलको गोंगबुस्थित घरको ५ वर्षसम्मको निःशुल्क इन्सुरेन्स पनि गरिदिएको छ । कम्पनीले धरेललाई सो विषय कहि पनि उजुरी र सञ्चारमाध्यममा भने सम्झौता तोड्ने चेतावनीसमेत दिएको छ । जगदम्बाले देशका विभिन्न भागबाट संकलन गरेका कबाडीबाट फलामे छड बनाउने गरेको पनि खुलेको छ ।

नियमअनुसार प्राइम ब्लेड प्रयोग गर्नुपर्नेमा कवाडी भेला पारेर छड बनाउने गरेको खुलेको हो । मुख्य मुख्य सहरबाट कवाडी संकलन केन्द्रले निश्चित रकम दिएर थोत्रा फलामका टुक्राहरू किनेका हुन्छन् । यस्तो कवाडी किन्दा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने भएका फलाम वा फलामको कराईसम्म लिएका हुन्छन् । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर यस्ता फ्याक्ट्रीमा लगिन्छ ।

थोत्रा फलामका यी टुक्रालाई पहिले भाँचेर सानो बनाइन्छ । यसका लागि जगदम्बाले विद्युत्बाट चल्ने क्रेनको प्रयोग गर्ने गरेको छ । थोत्रा फलामका सामानहरूलाई भाँचेर सानो बनाइसकेपछि फ्याक्ट्रीको भट्टीतर्फ लगिन्छ । जगदम्बाले थोत्रा फलाम पगाल्नका लागि ४ वटाभन्दा बढी भट्टी बनाएको छ । यिनै भट्टीमा यी थोत्रा सामान राखेर जगदम्बाले पगाल्ने गरेको छ । विद्युतबाट सञ्चालन हुने यस्तो भट्टीको तापक्रम ४ हजार डिग्री सेन्टिग्रेटभन्दा बढी हुन्छ । यही भट्टीमा फलामका थोत्रा सामान राखेर पगालिन्छ र ती सामान लिक्युड आइरन अर्थात् फलामको झोल बन्छ । त्यो झोललाई विस्तारै तापक्रम घटाइन्छ र फलामको ब्लेड बनाइन्छ ।

हुन त कवाडी अर्थात् थोत्रा फलाम पगालेर छड बनाउँदा त्यहाँ फिल्टरेसन अर्थात् फलामको प्रकृतिअनुसार छान्नुपर्ने हो । फलामको छनोट गर्दा खिया लागेको वा नलागेको, कुन प्रकृति वा गुणस्तरको फलाम भनी पहिले नै छान्नुपर्ने हो । तर जगदम्बाको फ्याक्ट्रीभित्र फलामको प्रकृति छुट्याई छनोट गर्ने विधि वा प्रक्रिया अवलम्बन गरिन्छ कि गरिँदैन ? मुख्य प्रश्न यो हो । एउटा ठूलो म्याग्नेट अर्थात् चुम्बकले तानेको सबै वस्तुलाई फलामका रूपमा भट्टीमा हालिन्छ र पगालिन्छ । जसका कारण पहिले नै कार्बन, फस्फोरस, सल्फर र सल्फर फोस्फरस कम्बाइन्डको मात्रा कम्पोजिसनमा फरक पार्छ । ग्याँस सिलिन्डरदेखि फलामका कराई वा कडाभन्दा कडा फलामका सामान र नरम फलामलाई पनि एकै स्थानमा राखेर पगालिन्छ ।

कडा फलामका सामानमा पहिले नै कार्बन, फोस्फरस र सल्फरको मात्रा बढी हुन्छ । तर, छड बनाउन फेरि पनि केही न केही मात्रामा कार्बन, फोस्फरस र सल्फर राखिन्छ, जसका कारण यस्ता छडहरूमा कार्बन र सल्फर तथा फोस्फरसको मात्रा बढी भई फलाम हुनुपर्नेभन्दा कडा बन्छ र आवश्यक मात्रामा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) नहुँदा उक्त छडलाई बंग्याउँदा भाँचिन्छ ।

यस्ता फलामको डक्टिलिटी मात्रै कम हुँदैन, ब्रिटलनेस अर्थात् कडापन बढी हुन्छ । अनि अलिकति बढी दबाब पर्नेबित्तिकै त्यो भाँचिन्छ । यस्ता छड प्राइम ब्लेडबाट बनेको छडभन्दा कमजोर हुन्छन् । त्यसकारण थोत्रा फलाम पगालेर बनाइने फलामे छड प्राइम ब्लेडबाट बन्ने छडको तुलनामा स्वाभाविक रूपमा कमजोर नै हुन्छ । कवाडी पगालेर बनाइने अधिकांश फलाम छड निर्माणमै प्रयोग हुने गर्छ, जसका कारण छड मापदण्डभन्दा कमजोर बन्न पुग्छ ।

बजारमा बिक्रीमा आएका यस्ता अधिकांश फलामे छडहरूमा कार्बन, सल्फर र फोस्फरसको मात्रा बढी रहेको पाइएको छ । छड उत्पादक कम्पनीले क्वालिटी कन्ट्रोलमा ध्यान नदिँदा फलामे छडमा यी केमिकलको मात्रा बढी पाइन्छ । यो तथ्यांक नापतौल विभाग र पुल्चोकस्थित केन्द्रीय ल्याबको लग रेकर्डमा पनि पाउन सकिन्छ ।