सल्यान । जिल्लाको एक गाउँपालिकाले विभिन्न समयमा आह्वान गरेको टेन्डरबाट बचेको रकमबाट एम्बुलेन्स खरिद गरेको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले टेन्डरको बचेको रकमबाट तीनवटा एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । ‘हामीले विभिन्न समयमा टेन्डर आह्वान गरेका थियौँ’, उनले भने, ‘टेन्डरको प्रतिस्प्रर्धाबाट बचेको रकम स्वास्थ्य क्षेत्रको विकासका लागि भनेर एम्बुलेन्स खरिद गरेका हौँ ।’

प्रतिएम्बुलेन्स १० लाख ५० हजार रपैयाँका दरले जम्मा ३१ लाख ५० हजार रुपैयाँमा तीन वटा एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष केसीले बताएका छन् । उक्त सबै रकम विभिन्न समयमा आह्वान गरेको टेन्डरबाट बचेको समेत उनले बताएका छन् ।

ग्रामीण क्षेत्रमा उपचार गर्नका लागि एम्बुलेन्स तथा यातायातका साधनको उचित व्यवस्था नभएका कारण कयौँ बिरामीले ज्यानसमेत गुमाउनु परिरहेको समयमा यस्ता समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गरेको उनले बताए । अब भने विशेष गरेर गर्भवती महिला र सिकिस्त बिरामीलाई समयमै उपचार गर्न सहज हुने उनको भनाइ छ ।

विपन्नलाई सहुलियत

गाउँपालिकाले खरिद गरेका एम्बुलेन्सले अति गरिब परिवारका लागी पनि सहजता ल्याउने भएको छ । ‘पैसाको अभावमा कतिपय घर परिवारले एम्बुलेन्सको खर्चसमेत उठाउन सक्दैनन् तर अब भने हाम्रो गाउँपालिका भित्रका सम्पूर्ण बिरामीले एम्बुलेन्स प्रयोग गर्न सक्नेछन्’, अध्यक्ष केसीले भने, ‘यहाँका आर्थिक अवस्था कमजोर भएका अति गरिब बिरामीहरूको पहिचान गरि एम्बुलेन्समा लिइने शुल्कमा पनि छुट गरिनेछ ।’

स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरबाट एम्बुलेन्स सञचालनमा आएपछि यस क्षेत्रका बिरामी नागरिक तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने भएपछि स्थानीयसमेत खुसी भएका छन् । गाउँमा कोही बिरामी भएको समयमा उपचार गर्न लैजानका लागि एम्बुलेन्स चाहिएमा श्रीनगर र खलंगाबाट बोलाउनुपर्ने समस्या हटेको भन्दै स्थानीय रमेश रेग्मीले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले यहाँका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गरेकोमा स्थानीयले प्रशंसा गर्दै धन्यवादसमेत दिएका छन् ।

स्वास्थ्यचौकी मातहत सञ्चालन हुने

गाउँपालिका भित्रका स्थानीयको स्वास्थ्यलाई मध्येनजर गर्दै गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको भए पनि सबै एम्बुलेन्स स्वास्थ्यचौकी मातहत सञ्चालन हुनेछन् । गाउँपालिकाले एम्बुलेन्स सञ्चालनसम्बन्धी बनाएको कार्यविधि अनुसार स्वास्थ्यचौकीले एम्बुलेन्स सञ्चालन गर्न पाउने स्वास्थ्य शाखाप्रमुख अम्मर शर्माले बताए ।

खरिद गरिएका एम्बुलेन्स गाउँपालिकाले तीन वटा स्थानमा सञ्चालनमा रहेका बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकीलाई सोमबार हस्तान्तरण गरेको स्वास्थ्यप्रमुख शर्माले जानकारी दिएका छन् । छत्रेश्वरी गाउँपालिका–१ मा रहेको दमाचौर स्वास्थ्यचौकी, वडा–४ मा रहेको झिम्पे स्वास्थ्यचौकी र वडा–६ मा रहेको भोटेचौर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको उनले बताए । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा भने अघिल्लो वर्षदेखि नै एम्बुलेन्स सञ्चालनमा आइसकेकोसमेत उनले जानकारी दिए ।

बिरामी भएको समयमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न यातायातका साधन भनेको वेला नपाइने समस्या अब पूर्णरूपमा हटेको वडा–३ का वडाध्यक्ष राजबहादुर बुढाथोकीले बताएका छन् । एम्बुलेन्स आएपछि यस क्षेत्रका स्थानीयलाई उपचार गर्न जिल्ला अस्पताल वा अन्य स्थानमा पु¥याउन सहज हुने उनले बताएका छन् । साबिकको चार वटा गाविस रहेको छत्रेश्वरी गाउँपालिकामा अहिले सात वटा वडा रहेका छन् ।