• 1
    Share

काठमाडौं । करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एकआपसमा खुसीयाली साटासाट गरे । तर कुटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्कै भयो ।

कुटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो–‘पर्याप्त गृहकार्यविना हुचवाका भरमा राजनीतिक भागवन्डा मिलाउन त्यहाँ दूतावास खोलियो, सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्यक आर्थिक भार थपियो ।’
२ वर्षअघि २०७३ फागुन दोस्रो साता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको तत्कालिन सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो ।

जब अन्य मुलुकमा दूतावास र कुटनीतिक नियोग स्थापनाको खाँचो आँैल्याइन्छ तब कुटनीतिक वृत्तमा फेरी स्पेनको उदाहरण दोहो¥याउने गरिन्छ । स्पेन मात्रै होइन त्यहाँभन्दा झनै बढी नेपालीहरुको उपस्थिती रहेको इटाली, पोर्चुगल, इराक, टर्कीजस्ता मुलुकबाट पनि वर्षौ अघिदेखि दूतावासको माग हुँदै आएको छ । तर यी मुलुकबारेको प्रकृया खासै अघि नबढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्पर्क र उपस्थिती बजेटसँग मात्रै तुलना गर्न नहुने परराष्ट्रका अधिकारीहरुको तर्क छ । ‘स्पेनमा दूतावास खोल्दा हुन्छ भने इटाली, पोर्चुगल, इराक र टर्कीमा किन नहुने, यी देशबाट पनि वर्षौअघि देखि दूतावासको माग आइरहेको छ, तर खैं सरकार यसबारेमा खासै गम्भिर देखिदैन’–परराष्ट्रका एक अधिकारीले भने ।

ती अधिकारीले प्रष्ट्याउँदै भने–‘टर्कीले नेपालसँग सिधा हवाई उडान भरिरहेको अवस्थामा नेपालले टर्कीमा दूतावास खोल्न ढिलो भइसकेको छ, यूरोप र समग्र मध्य एसियाली मुलुकसँगको सम्पर्क जोड्न त्यहाँ दूतावासको खाँचो छ ।’

नेपालसँग सिधा हवाई उडान गर्ने एक मात्र यूरोपेली मुलुक टर्की अन्तर्राष्ट्रिय व्यापारिक कारोबारमा विश्वको १६ औं राष्ट्रमा सूचिकृत भइसकेको छ । सिधा उडान जोडिएसँगै सो मुलुकसँग नेपालले पछिल्ला वर्षमा बार्षिक करिव ८ अर्बको बैदेशिक व्यापार गर्दै आएको छ । टर्कीसँगको कुटनीतिक सम्पर्क नेपालले अहिले पाकिस्तानस्थित नेपाली दूतावासमार्फत नियाल्दै आएको छ ।

यसैगरी समग्र ल्याटिन अमेरिकी मुलुकभरी ब्राजिलमा मात्रै नेपाली दूतावास खुलेको छ भने अफ्रिकी महादेशमा दक्षिण अफ्रिका र इजिप्टमा मात्रै नेपालको औपचारिक उपस्थिती छ । नेपालीहरुको उपस्थिती, द्धिपक्षिय व्यापार, राजनीतिक, सामरिक, साँस्कृतिक, परम्परागत र जनस्तरको सम्बन्धलाई जोड्न दूतावास र नियोग स्थापना हुँदै आएका छन् । यससँगै दूतावास स्थापना हुने मुलुकको अन्तर्राष्ट्रिय र क्षेत्रीय पहुँचलाई आफ्नो मुलुकले लिन सक्ने संभावित लाभलाई पनि ध्यान दिइन्छ ।

नयाँ दूतावास र नियोग स्थापनाबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको सो मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतराज पौडेलले बताए ।

पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले यसबारे अध्ययन गरिरहेकाले सो कार्यदलले दिने प्रतिवेदनका आधारमा सरकारले प्रकृया अघि बढाउने उहाँको भनाई छ । ‘नयाँ दूतावास र नियोगको आवश्यकतासँगै पुनरवलोकनका लागि कार्यदल गठन भएको हो पौडेलले भने–‘कार्यदलले दिने सुझावका आधारमा सरकारले आगामी पहल अघि बढाउने छ ।’

नेपालले अहिलेसम्म विभिन्न ३० मुलुकमा आवासीय दूतावास स्थापना गरेको छ भने अमेरिकाको न्यूयोर्क, स्वीजरल्यान्डको जेनेभा र अस्ट्रियाको भियनामा स्थायी प्रतिनिधी खटाउँदै आएको छ ।