काठमाडौं । प्रहरीमाथि जाईलाग्ने खोज्ने एक हतियार कारोबारीलाई गोंगबुमा गोली चलाएर नियन्त्रणमा लिएको भन्दै काठमाडौं प्रहरीले दावी गरेको घटना शंकास्पद बनेको छ । काभ्रे तेमालका अविलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले मिडियासामु बोलेका थिए ।

तर, प्रहरीकै विज्ञप्तीलाई आधार मान्ने हो भने उक्त घटना शंकास्पद देखिन्छ । काठमाडौं परिसरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘केही व्यक्तिहरुले रसुवाबाट काठमाडौं भित्रिने अवैध सुन लुट्ने योजनाका साथ गोंगबुको होटल लक प्रालिमा हात हतियारसहित अपरिचित व्यक्ति बसेको छ भन्ने विशेष सूचनाको आधारमा विशेष टोली परिचालन गरी खोजतलास गर्ने क्रममा मंगलबास साँझ उक्त होटलको कोठा नम्बर १०४ मा पुग्दा एक जना पुरुष व्यक्ति पेस्तोलसहित रहेको अवस्थामा देखि आत्मरक्षा स्वरुप प्रहरीको तर्फबाट निजलाई बायाँ खुट्टाको पिडुलामा गोली लागी घाइते भएकाले उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।’

तर, प्रश्न स्वभाविक रुपमा उठ्छ, डिएसपी होविन्द्र बोगटीको कमाण्डमा गएको जम्बो टोली कोठा भित्रै पुगिसकेको अवस्थामा के अविलासलाई नियन्त्रणमा लिन गोली चलाउनु पथ्र्यो ? एक जनालाई प्रहरीको झण्डै १० जनाको टोलीले नियन्त्रणमा लिन कोठाभित्रै गोली चलाउनु पर्ने प्रहरीको दावी नै शंकास्पद र झुटो देखिन्छ ।

काभ्रे जिल्ला वाइसिएलका इन्चार्ज समेत रहेका तामाङमाथि ‘फेक गोलीकाण्ड’ भएको भन्दै काभ्रेका पूर्व माओवादी नेताहरु गृहमन्त्रीसामु पुगिसकेका छन् ।

प्रहरी स्रोतका अनुसार तामाङ कुनै समय प्रहरीकै सुराकी थिए भने अर्का सुराकी राम तामाङ नाम गरेका व्यक्तिको सूचनाका आधारमा डिएसपी बोगटीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो ।

दुबै सुराकीबीच विगतदेखि नै विवाद बढ्दै गएको र एकले अर्कालाई फसाउने योजना अन्तर्गत उक्त घटना भएको भन्दै अविलासको तर्फबाट गृहमन्त्रीसामु पूर्व माओवादीका नेताहरुले घटनाको छानविन गर्न दबाब दिएको स्रोतले बतायो ।

गोली लागेका अविलासले उक्त हतियार आफ्नो नभएको र प्रहरीले जवर्जस्ती फसाएको बयान दिएका छन् ।

त्यसो त काममा भन्दा सस्तो प्रचारमा रमाउन चाहने एसएसपी लामाले काठमाडौं परिसरमा आउने वित्तिकै असावधानीपूर्वक बौद्धको जुवा अखडामा छापा मार्दा दुई जुवाडेको ज्यान गएको थियो । उक्त घटनामा पनि डिएसपी बोगटीको भूमिका शंकास्पद रहेको थियो ।

त्यस्तै, यसअघि लामाकै टोलीले सिटिसी मलको चौथो तलामा रहेको सिटिभि मोवाइल कम्पनीका किसान राईमाथि गोली चलाएको थियो । लेनदेनको विवादमा एक महिलाको पक्षमा लागेर परिसरले राईमाथि गोली चलाएको घटना पनि विवादास्पद थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दबाबमा परिसर प्रमुख बनेका एसएसपी लामा कमाण्ड क्षमतामा कमजोर मानिन्छन् ।