काठमाडौं
। सशस्त्र द्वन्द्वताका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ का शेरबहादुर केसीलाई धेरैले डाक्टर भनेर चिन्थे । युद्धका घाइतेको उपचार गर्दागर्दै आफैं थिल्थिलो भएका केसीको शरीरमा अझै पनि गोलीका छर्रा छन् । जनमुक्ति सेनाको उपचारमा ७ जनाको टोली परिचालन गरेका उनी ०५६ देखि ०६९ सालसम्म तत्कालीन माओवादी पार्टीको पूर्णकालीन सदस्य थिए ।

लडाइँ क्रममा गोली लागेका, हातखुट्टा भाँच्चिएका तथा अन्य समस्या भएकालाई उपचार गर्ने शेरबहादुर प्युठानको चकचके देवस्थानमा एम्बुस थाप्दै गर्दा बम पड्किएर घाइते भए । टाउको र कम्मरमा लागेका छर्राको बेलैमा उपचार नहुँदा मानसिक रोगी बने । दिमागी समस्या भएपछि परिवारले उपचार गरेर अहिले सञ्चो भइसकेको उनले बताए ।

बीएड तेस्रो वर्षसम्म पढेका शेरबहादुर अहिले कार्र्यालय सहयोगी छन् । डाक्टरको परिचयबाट पियनमा बदलिएका उनको पार्टीप्रति ठूलो गुनासो छ । आफूजस्तै थुप्रै कार्यकर्ता घाइते र अपांग भए पनि पार्टीले ध्यान नदिएको बताउँछन् । ‘पार्टीमा लगानी र योगदानको कुनै मूल्यांकन हुँदो रहेनछ,’ शेरबहादुरले भने, ‘पैसा हुने र नेताको गुलामी गर्नेलाई मात्र सबै अवसर दिने गरिन्छ, त्यसले म जस्तालाई अन्याय गरेको छ ।’

शान्ति प्रक्रियापछि वाईसीएलको थारुवान राज्य समिति सदस्य भएर काम गरेको तर पनि योगदान भुलेर पार्टीले आफूलाई कुनै सहयोग नगरेकोमा उनले दुःख पोखे । बिरामी हुँदासमेत कुनै सहयोग नपाउँदा झनै दुःख लागेको शेरबहादुरको भनाइ छ ।
आफू र परिवारका लागि केही नगरी पार्टीमा लागेका कारण अहिले घर खर्च चलाउन समेत समस्या परेको उनले बताए । छोरालाई पढाउन र घरखर्च सञ्चालनको लागि भए पनि कार्यालय सहयोगी भई काम गर्न बाध्य भएको शेरबहादुरको भनाइ छ ।

बिहान ९ बजे नै वडा पुगेर कार्यालय सफाइ तथा अन्य काम गर्ने केसीले पार्टी नेतृत्वको सरकार भएकोले पनि आशा मार्न सकेका छैनन् । सँगै युद्धमा हिँँडेका साथीहरू कोही सरकारमा त कोही विभिन्न अवसरमा लागेको देख्दा आफूलाई पछुतो लाग्ने गरेको बताए ।

-जनआस्था साप्ताहिक