काठमाडौं । अहिलेका नेता, मन्त्री र सांसदहरू बिलासी अनि सुविधाभोगी भएको लागिरहेका बेला एकताका आदर्शवादी र अति इमान्दार सांसदको छवि बनाएका पूर्वेली पूर्वमाननीयहरू बुढेसकालमा चाहिँ दयनीय र विचलित अवस्थामा पुगेका छन् । मुख्यतः आर्थिक समस्याका कारण एक पूर्वमाननीयले केही समयअघि घरमै झुण्डिएर आत्महत्या गरेका थिए ।

राष्ट्रिय पञ्चायतको चुनावमा मोरङबाट मातृका कोइरालालाई हराउने कर्ण धिमालले केही महिनाअघि आत्महत्या गरेपछि इमान्दार र पूर्वमाननीयको दयनीय अवस्था सार्वजनिक भएको हो । मोरङबाट माननीय र सेती अञ्चलको अञ्चलाधीशसमेत भइसकेका कर्ण असोज २७ मा बेलबारी नगरपालिका–२, लालभित्तीस्थित आफ्नै घरको बरण्डामा झुण्डिएका थिए ।

छोरा अभिमन्यु र श्रीमती लक्ष्मी धिमाल राई काठमाडौंतिरै बसेका र सम्बन्ध पनि त्यति राम्रो नभएकाले एक्लो जीवनको मानसिक पीडा झेल्दै आएका उनी रोगले ग्रस्त थिए । पारिवारिक कलह, कमजोर आर्थिक अवस्था, एक्लोपना, रोगब्याधीको पीडा र राज्यको बेवास्ता सहँदै आएका उनले झुण्डिनुभन्दा अघिल्लो दिन छरछिमेकीलाई आफू चाँँँडै मर्ने बताएका थिए । नभन्दै राति २ बजेतिर पिसाब फेर्न उठेका छिमेकीले घरको बरण्डाको छतमा झुण्डिएको अवस्थामा देखे । हत्तपत्त गएर हेर्दा उनले देहत्याग गरिसकेका रहेछन् ।

पञ्चायत पक्षधर भए पनि उदार स्वभावका अनि इमान्दार र आदर्शवादी व्यक्तित्व मानिने धिमालले मृत्युुपर्यन्त शरीर दानको घोषणा गरेका थिए । जसअनुसार घोपा क्याम्प अर्थात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाइएको थियोे । तर, आत्महत्या गरेको कारण घोपाले शरीर लिन मानेन र एक÷दुई दिनपछि घरमै ल्याएर लोहोन्द्रा खोलामा दाहसंस्कार गरियो ।

दयनीय आर्थिक अवस्थाका कारण हाइड्रोसिललगायत रोगको उपचारका लागि गत वर्ष स्थानीयले आर्थिक सहयोग संकलन गरेका थिए । नेकपा मोरङका नेता तथा व्यवसायी प्रताप थापाले आफूहरूको अग्रसरतामा उनको उपचारका लागि दुई–तीनपटक चन्दा उठाइएको बताए । धिमालले भाषिक तथा साँस्कृतिक उत्थान र प्रवद्र्धनका लागि विशेष योगदान गरेका थिए । उनकै अग्रसरतामा यसनिम्ति एक अक्षयकोषसमेत खडा गरिएको छ । त्यसैगरी, बेलबारीका एक÷दुईवटा विद्यालय स्थापनामा उनको विशेष योगदान रहेकोे नेता थापाले बताए ।

दुई पटक सांसद भइसकेका बेलबारी बस्ने पूर्वसांसद हर्कमान तामाङको पनि आर्थिक अवस्था त्यति मजबुत छैन । श्रष्टा समाजको अध्यक्ष रहेका उनी राजनीतिभन्दा साहित्य क्षेत्रतिर सक्रिय छन् । सिंगो जीवन कम्युनिष्ट पार्टीको लागि समर्पण गरेका उनलाई केही वर्षयता पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।

घरमै सानो क्याफे सञ्चालन गरेर कुखुरा तथा माछापालनसमेत गर्दै छोरा–बुहारीसँग लालभित्तीमा बस्दै आएका तामाङ जसोतसोकै अवस्थामा छन् । आदर्शवादी छविकै कारण उनको जीवनीमा आधारित रहेर पुस्तक प्रकाशन र डकुमेन्ट्री बनाइदिनेजस्ता विभिन्न प्रस्ताव नआएका हैनन् । दुई पत्नीको वियोगपछि पूर्वएमाले नेत्री यशोदा अधिकारीसँग तेस्रो विवाह गरेका उनले फेरि पनि डिभोर्सको पीडा सहनुप¥यो, त्यसैले एक्लो जीवन जिउनुपरेको छ ।

दार्जिलिङबाट नेपाल प्रवेश गरेपछि शिक्षण पेशा र त्यसपछि पूर्णकालीन राजनीति गरेका उनको जीवनमा आधारित पुस्तक प्रकाशन गर्नका लागि दार्जिलिङ र सिक्किमे साहित्यकारले खर्च व्यहोर्ने आशय व्यक्त गरे पनि तामाङले सो प्रस्ताव इन्कार गरेका छन् ।

उनी नेतृत्वको स्रष्टा समाजले एक महिनाअघि दार्जिलिङ र सिक्किमका वरिष्ठ साहित्यकारलाई समेत ल्याएर १ नम्बर प्रदेशस्तरीय साहित्यिक कार्यक्रम गरेको थियो ।
त्यसो त कुनैबेला भोजपुरबाट निर्वाचित नरेन्द्र बस्नेत निकै वर्षदेखि राजनीतिबाट विमुख छन् । मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित खोर्सानेमा बस्दै आएका उनी केही वर्षअघि नेकपा माले हुँदै माक्र्सवादीमा पसेका थिए । तैपनि, सक्रिय राजनीतिमा नलागेका उनी झण्डै एक वर्षअघि केपी ओलीको हातबाट अबिर लगाएर नेकपामा प्रवेश गरेका छन् । सामाजिक रूपले विभिन्न संघसंस्थामा सक्रिय रहे पनि राजनीतिमा खासै सक्रिय देखिन्नन् ।

लामो समयसम्म एउटा स्कुलमा बिनातलब पढाएका उनको सांसद नहुँदै पनि भोजपुरमा ठूलो रवाफ थियोे । टाइगर उपनामले चिनिन्थे । तत्कालीन एमालेले सांसदको टिकट दिएपछि शिक्षणको काम छाडे । राजनीतिक रूपमा सक्रिय नभए पनि बस्नेत केही वर्षअघि क्रिश्चियन बनेका छन् । तन्नेरी लक्का जवानझैं भोजपुरको अलैंचीलगायत बालीनाली सम्हाल्न आफैं जान्छन् । वर्षमा दुई÷चार पटक मोरङ र भोजपुर ओहोर–दोहोर गर्दै आएका उनी विचलित भएर क्रिश्चियन बनेको धेरैको बुझाइ भए पनि हेर्दा तनाव र विचलनमा भने देखिँदैनन् ।

पूर्वसांसदहरूले दयनीय अवस्थामा बाँच्नुपर्ने र आत्महत्यासम्म गर्नुपर्ने अवस्था आउनुमा राज्य नै दोषी भएको भन्दै तीनै जना पूर्वसांसदसँग निकटको सम्बन्ध भएका प्रताप थापा भन्छन्, ‘पूर्वमाननीयहरूको अनुभव, सीप र क्षमताअनुसार राज्यले कुनै जिम्मेवारी दिएर सहज वातावरण नबनाउने हो भने अरू इमान्दार नेता–कार्यकर्ताको नियति पनि कर्ण धिमालको जस्तै हुन सक्छ ।’
-अम्बिका भण्डारी, जनआस्था साप्ताहिक