• 2
    Shares

बिराटनगर । जुत्ता व्यवसायीहरुले स्टक मिलाउन विराटनगरमा एक महिने जुत्ता मेला सञ्चालन गर्ने भएका छन् । बालाजी मिडिया हाउसको ब्यानरमा माघ ९ गतेदेखि एक महिनासम्म विराटनगरमा जुत्ता मेला सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । विराट फुटवेयर एक्स्पो नाम दिएको उक्त मेलामा नेपालका १० जुत्ता उत्पादक कम्पनीहरु सहभागी हुने आयोजकको भनाइ छ । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजनकले बताए पनि स्टक मिलाउनका लागि जुत्ता मेला सञ्चालन गर्न लागेको बताइएको छ । विराट फुटवेर एक्स्पोमा चालू आर्थिक वर्ष ०७५/०७६ को पुस मसान्तमा स्टक मिलाउन नसकेका उत्पादित जुत्ताको स्टक मिलाउनका लागि मात्र जुत्ताको ब्यापार सुनियोजित रुपमा गर्न लागेको उद्योगी एवं व्यवसायीले नै आरोप लगाउन थालेका छन् ।

नेपालमा ३२ अर्बको जुत्ताको कारोबार भइरहेको जुत्ता घरका अध्यक्ष एवं मेलाका संयोजक होमनाथ उपाध्यायले पत्रकार सम्मेलन नै गरेर बताएका थिए । उनले बालाजी मिडिया हाउसको ब्यानर मात्र प्रयोग गरेको बताएका थिए । मेलाका नाममा हुने कारोबारलाई सरकारी राजस्वमा ठूलो ठगी हुनेतर्फ सम्बन्धित निकायले सचेत हुनुपर्ने अवस्था रहेको स्थानीय व्यवसायीहरुले नै बताउन थालेपछि विराट फुटवेर मेला विवादमा परेको छ । मेलाका नाममा हुने कारोबारलाई आयोजक संस्था बालाजी मिडिया हाउसले नै लिनुपर्ने आन्तरिक राजस्व कार्यालयले जनाएपछि मेला सुरु हुनु अगावै विवादमा पर्न पुगेको हो । अहिले पनि नेपालमा प्रत्यक्ष १६ अर्ब नेपाली लागानी जुत्ता उत्पादनमा रहेको छ ।

नेपालमा जुत्ताको आयातलाई प्रतिस्थापन गर्नु मेलाको उद्देश्य रहेको बताइए पनि पुरानो जुत्तालाई स्टक मिलानका लागि मात्र राखेर उद्योगीले आफ्नो स्वार्थ पूरा गर्न खोजेको पाइएको छ । नेपाली जुक्ता उद्योगले अहिले पनि दक्ष जनशक्तिको अभाव भोगी रहेकाले गुणस्तरीय जुत्ता उत्पादन नै हुन नसकेको दाबी समाचारस्रोतले गरेको हो । अहिले पनि नेपाली जुत्ता उद्योगीहरुले जुत्ता चप्पल उत्पादनको लागि आवश्यक पर्ने ७० प्रतिशत कच्चा पदार्थ विदेशबाट नै आयात गरिरहेको अवस्थामा हुन लागेको जुत्ता मेलाबाट उपभोक्ताले कुन गुणस्तरको सामान खरिद गनै पाउँछ ? आफैँ प्रमाणित हुने बताउन थालिएको छ । जुत्ता मेलाको मुख्य आयोजक विराट मिडिया हाउसको पहिलेदेखि नै कारोबार शंकास्पद रहेको आन्तरिक राजस्व कार्यालय स्रोतले बताएको छ । आन्तरिक राजस्व कार्यालयले समेत उक्त मेलालाई उच्च प्राथमिकतामा राखेर मेला सञ्चालन विधि र कानुनी प्रावधानका सम्बन्धमा हेरिरहेको छ । विराट फुटवेयर एक्स्पो नाम दिइएको मेला एक महिनासम्म सञ्चालन हुनेछ । मेलाले दुई करोडसम्मको कारोबार गर्ने र करिब दुई लाख उपभोक्ताले अवलोकन गर्ने आयोजकको दाबी छ । (आर्थिक दैनिकबाट)