Spread the love
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले छोरा अभिषेकमार्फत् सेनाका ठेक्कापट्टामा सेटिङ गरी भ्रष्टाचार गरी अवकाश हुने बेलामा बदनामीको भारी बोकेर गए । राजेन्द्र क्षेत्रीको पालामा उनका छोरा अभिषेकले ग्राण्डी अस्पतालका सञ्चालक एवम् ठेकेदार दिपक कुँवर, विजय श्रेष्ठ, रोशन श्रेष्ठ, अमित साहलगायतको समूहलाई सेनाका ठेक्का दिएर करोडौं करोड कमिसन असुली गरेका थिए ।

वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि ठेक्कापट्टामा आफन्तलाई परिचालन गरिसकेको खुलासा भएको छ । उनले साला राजन रायमाझीलाई सेनाका ठेक्कामा अगाडि बढाएका छन् । उनका साला रायमाझीले सेनाकै कालोसूचीमा परेको जेभीएम कम्पनीका संचालक राजमान मिश्रसँग मिलेर सेनाको ठेक्कामा हात हालेका छन् ।

जेभीएमले गोर्खा ह्याट(सेनाको टोपी) समयमा आपूर्ति गर्न नसकेपछि कालोसूचीमा परेको कम्पनी हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको बेबसाइटमा अहिले पनि उक्त कम्पनी कालोसूचीमा परेको विवरण छ । जेभीएम कालोसूचीमा परेपछि ठेकेदार मिश्रले जेबीडीएम नामक कम्पनी श्रीमतीको नाममा खोली सेनाको १ लाख मिटर ऊलन पाइन्टको कपडाको टेण्डर लिइसकेका छन् । मिश्रको जेबीडीएम कम्पनीलाई २०७५ माघ ७ मा सेनाले प्रतिमिटर अमेरिकी डलर ६.४१ सेन्टमा ऊलन पाइन्टको कपडाको ठेक्का दिने निर्णय गरेको छ । जुन ठेक्का सेनापति थापाका साला राजन रायमाझीमार्फत् मिश्रले लिएको स्रोतले बताएको छ । राजन रायमाझीसागको कनेक्सनपछि ठेकेदार मिश्रको चुरीफुरी सेनामा बढेको छ ।

सेनामा समयमा सामान बुझाउन नसकेपछि सेनाकै सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । तर सेनाले नै कालोसूचीमा राखेका मिश्रलाई ऊलन पाइन्टको ठेक्का दिलाउने काम साला रायमाझीले नै गरेका छन् । जसका कारण सेनापति थापा नै विवादमा परेका छन् । राजेन्द्र क्षेत्रीको त कार्यकालको अन्तिममा भ्रष्टाचार काण्ड सार्वजनिक भएको थियो । तर थापाको त कार्यकाल सुरु भएको ६ महिना नपुग्दै ठेक्कापट्टामा चासो दिएको कुरा बाहिरिएको छ । सेनापतिका साला रायमाझीको देखावटी ब्यापार केही नभए पनि हालसालै नक्सालमा २८ करोड रुपैयाँको जग्गा खरिद गरेको स्रोतले बताएको छ ।
(नयाँ पेज)