Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । पोखराको शानका रूपमा रहेको फेवाताल बर्सेनि पुरिँदै गएको छ । थोरै प्राकृतिक र धेरै मानवीय कारणले फेवाताल अतिक्रमणमा परेको हो ।

वि.स. २०१८ सालमा १० वर्ग किलोमिटरमा रहेको सो ताल २० वर्षमा घटेर ५ दशमलव ८ वर्ग किलोमिटरमा झरेको थियो । पछिल्लोपटक २०५८ को विवरणमा सो ताल अझै घटेर ४दशमलव २५ वर्गकिलोमिटरमा आएको छ । त्यसयता सो तालको मापन अहिले हुन सकेको छैन । ताल वरिपरि बन्ने मानवनिर्मित व्यापारिक केन्द्र, विभिन्न व्यक्तिबाट बारम्बार भइरहेका अतिक्रमणले गर्दा यसको अस्तित्व अबको ७५ वर्षमा पूर्णरुपमा समाप्त हुने एक अध्ययनले देखाएको छ ।

‘ताल अतिक्रमण र बर्सेनि माटो, बालुवा र फोहोरमैलाले गर्दा जमिन पुरिँदै जाने स्थिति रहेमा आगामी ७५ देखि १०० वर्षभित्र फेवाताल पूरै समाप्त हुने खतरा देखिएको छ’, संसदीय समितिको प्रतिवेदनमा यही शब्द उल्लेख गरिएको छ । गण्डकी प्रदेशको राजधानीमा रहेको फेवाताल हेर्न र घुम्न वर्षेनी स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् । तर, सोही ताल मानविय चपेटामा परेपछि सरोकारवाला र संसदीय समितिले चासो व्यक्त गरेका हुन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत नागरिक उड्डयन अध्ययन अनुगमन समितिले तयार पारेको प्रतिवेदनले संरक्षणमा जोड नदिए ७५ वर्षमा तालनै नरहने संकट देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा ७५ वर्ष लेखिए पनि यसका लागि यति धेरै समय नलाग्ने उपसमितिका संयोजक माधवकुरमार नेपालको भनाइ छ । ‘प्रतिवेदनमा ७५ वर्ष लेखिए पनि यसैगरी अतिक्रमण बढेमा २५ वर्षमा फेवातालको अस्तित्व सकिने देखिन्छ’, दुई महिना लगाएर तयार पारेको प्रतिवेदन समितिमा पेस गर्दै संयोजक नेपालले यस्तो यथार्थ सुनाए ।

अध्ययन प्रतिवेदनअनुसार फेवाताल हरेक वर्ष १० हेक्टरका दरले पुरिँदै गएको छ । वर्सेनी प्रदूषणको मात्रा बढेको छ भने पछिल्लो दुइ–तीन वर्षयता अतिक्रमण पनि बढेको छ । ३ वर्षयता फेवाताल १ सय रोपनीभन्दा बढी पुरिएको छ । तालको मुख्य स्रोत हर्पन खोला हुँदै तालको मुहान फेवा जलाधार क्षेत्रमा खसेको पहिरो, ढुंगा, कमेरो माटो तथा काठपात सोझै तालमा आउँदा ताल पुरिने क्रम बढेको छ । २०७२ साउन १३ गते तालको मुहानक्षेत्र अन्नपूर्ण गाउँपालिकाको तारेभीर जंगलमा पहिरो गएर ढुँगा माटोसहित काठपात तालमा आउँदा फेवाताल एक महिनाभन्दा बढी धमिलो भएको थियो ।

त्यतिबेला कमेरोमाटोसहित काठपात फेवातालको ड्यामसाइडसम्म थुप्रिँदा तालको सतह समेत घटेको स्थानीयको भनाइ छ । ‘अहिले फेवातालको क्षेत्रफल कति छ यकिन छैन तर अतिक्रमण भएको छ’, मुस्ताङबाट निवार्चित सांसद प्रेमप्रसाद तुलाचन २०४६ सालपछि अतिक्रमणको क्रम बढेको बताउँछन् । उनले २०४५ सालसम्म फेवाताल जलाधार संरक्षण आयोजना संचालन गरेर अतिक्रमण रोक्ने काम गरिए पनि २०४६ बाट अतिक्रमण बढेको उनले बताए ।

फेवातालको मुख्य स्रोत हर्पन खोला हुँदै प्रतिवर्ष फेवातालमा १ लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिएको विभिन्न अध्ययनले देखाएको छ । केही वर्षयता यो क्रम बढेको छ । सन् १९५७ को नापी अनुसार २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनमा तालको क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपानीमा सीमित भएको छ ।

संसदीय उपसमितिले तालको क्षेत्रफल कम हुनुमा ठूलो अनियमितता भएको आशंका गर्दै यस विषयमा छुट्टै समिति बनाएर अध्ययन गर्नुपर्ने माग पनि गरेको छ । लक्ष्मणरेखा कोर्नेदेखि खोलाले बगाएर ल्याउने साना गिट्टी रोक्नसम्म सरकारलाई निर्देशन दिनुपर्ने सुझाव समितिको छ ।

फेवाताल कसरी घट्दै गएको छ भन्ने विषयमा गहन खोजी गरेर दोषी पाइएमा जोकोहीलाई कानुनअनुसार कारबाही गर्न उपसमितिले माग गरेको छ । उपसमितिले पुरानो १० वर्ग किलोमिटर क्षेत्रफल नै कायम राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिन सिफारिस गरेको छ ।

फवाताल वरिपरि लक्ष्मणरेखाको रूपमा पैदल मार्ग, साइकल मार्ग र घोडा मार्ग बनाउन उड्डयन मन्त्रालयलाई निर्देशन दिनुपर्ने जनाइएको छ । ताल वरिपरिबाट बाटो खोल्ने, भित्र हरियाली बनाउने, जग्गा निजी परे पनि अध्ययन गरी अधिग्रहण गर्नुपर्ने योजना समितिले बनाएको छ । सर्वोच्च अदालतले पनि यसअघि फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भनिएको छ ।

संसदीय उपसमितिको फेवातालको महुनातर्फको क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गर्ने र अरू ताललाई पनि सही प्रक्रियामा लैजानुपर्ने सुझाव रहेको छ । यी निर्देशन मन्त्रालयबाट कार्यान्वयन हुँदा भने ७५ वर्षमा फेवाताल सकिने होइन, हराभरा हुने र अन्तराष्ट्रिय आकर्षक स्थल बन्नेमा भने सरोकारवाला सहमत देखिन्छन् ।