Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण सरकार र पार्टी रक्षात्मक भएकाले तुरुन्त ‘बोल्ड स्टेप’ नचाल्ने हो भने देशमा गम्भीर राजनीतिक दुर्घटना हुने निष्कर्षमा पुगेको उनी निकट स्रोत बताउछ ।

‘हिजोका राजा, महाराजाको कार्यशैलीमा पार्टी र सरकार चलाएर पनि हुन्छ ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘वा केपी ओलीको राजीनामा मागेर उनकै विकल्प खोज्ने वा अरु पक्षले राजीनामा दिएर उनको गुटलाई मात्र एकलौटी सरकार चलाउन दिने । हैन भने केपी ओली र उनको आसेपासेका नाममा अझ ठोसमा भन्दा विदेशी फण्डमा मजदूर संगठन वर्षाैं चलाएका विष्णु रिमालले दुई तिहाइको सरकार र पार्टी चलाउने ? यो लामो समय हुनै सक्तैन ।’

‘माधव नेपाल विचारमा असाध्यै कमजोर, लोभी चरित्रका भए पनि सापेक्षमा टिममा काम गर्ने खालका नै नेता रहेछन्, प्रचण्ड गतिशील नै हुन, विचार पनि भएका तर उनले आफ्नो परिवार र हिजो जनयुद्ध लडेका नाममा राज्यशक्तिको दोहन गर्नुपर्छ भन्ने र सर्वहाराका नाममा ‘लम्पट आवारा’मा रुपान्तरित भइसकेकाहरूसंग नै बढी भरपर्ने अवस्था रहेको’ भन्दै नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठको भनाइ छ, ‘जनताको मतलाई सम्मान गरेर पार्टी र सरकारको नेतृत्वको संकट नै परेको छ ।’

सरकारबाट हट्लान त मन्त्री ?

केपी ओलीको अहिलेको ढर्रा मानेर जानुभन्दा उनको नेतृत्वमा सरकारमा पठाएका अरु पक्षलाई सरकारबाट बाहिर निकाल्नु पर्ने मत आफूले पार्टीका विभिन्न नेतासंग राखेको प्रवक्ता श्रेष्ठले आफ्ना निकटका नेतालाई बताएका छन् । ‘सरकारमा गएकामध्ये माधवकुमार नेपालको पक्षको मन्त्री नै को हो मैले चाहिं छुट्ट्याउनै सकिन ।

विचार र कार्यशैलीमा स्पष्ट बहस नभएको पार्टीमा सायद पद र सुविधाले नै गुट निर्धारण हुन्छ क्या रे !’ प्रवक्ता श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले अगाडि भन्यो, ‘प्रचण्डको भावी विरासत धान्ने भन्दै प्रचण्डले नै इम्फेसिस दिएर काखमा हुर्काएका वर्षमान पुनको हालत मन्त्री पदलाई भजाएर भद्दा सामन्तवाद देखाउनमै मस्त रहेको हालै थवाङको बजागाजा र रौतहटको दुई सय दुई किलोको माला प्रकरणले उजागर गरेकै छ ।

मन्त्री पुनले नै प्रचण्डले सरकारबाट फर्क भनेर भने आदेश मान्छन् कि मान्दैनन् शंका गर्नुपर्ने अवस्था छ । पूर्व माओवादी कोटामा गएकामध्ये मात्रिका यादव प्रष्ट भारतीय लवीका हुन्, यसमा प्रचण्ड अस्पष्ट छन् जस्तो लाग्दैन । प्रचण्डतिर भन्दा उनी पनि उतैतिर वफादार छन् । अहिले यसो हेर्दा वादल प्रधानमन्त्री केपी ओलीसंग लपक्कै टाँसिएको छनक आएको छ । गिरिराजमणि पोखरेल मात्र अहिलेको अवस्थाका बारेमा स्पष्ट छन् । त्यसैले सरकारबाट मन्त्री निकाल्ने भन्ने कुरा पनि अरु समूहलाई त्यति सजिलो त छैन ।’

उपराष्ट्रपति नन्द किशोर पुनले पोखरामा विवादास्पद होटलको उद्घाटन विवादास्पद छोरा दीपेश पुनको ‘सेटिङ’मा गरेको बताउँदै रोल्पाको सापेक्ष इमान्दार छवि पनि उनले पछिल्लो समय पोली खाएको प्रवक्ता श्रेष्ठको विश्लेषण गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले सभामुख भइसकेपछि पनि संगठन र आम्दानीको स्रोतमा हात हालिरहेकोमा पनि प्रवक्ता श्रेष्ठले चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘मलेशिया र नेपालमा बराबर बसेर हुण्डीको अवैध कारोबारी रमेश तिवारी जस्ता बद्नाम मान्छेको पक्षमा खुलेर लबिङ गर्दा …..भन्दा देख्नेलाई लाज भइसक्यो । रोल्पाको हिजोको सर्वहारा वर्गको त्याग, वलिदान, आदर्श आज लम्पट आवारा चरित्रमा बदलिएको यी प्रमाण होइनन् ?’
(साँघु साप्ताहिक)