Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

चितवन । भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने भएको छ । क्रिकेट रङ्गशाला धुर्मुस–सुन्तली फाउण्डेशनकाे सक्रियतामा बनाउन लागिएकाे हाे । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको जग्गामा रङ्गशाला बनाउने तयारी भइरहेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदैछ ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेल पनि खेल्न सकिने गरी निर्माण गरिने उहाँले बताउनुभयो । रङ्गशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।

जग्गा रङ्गशाला निर्माणका लागि २ विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रङ्गशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी उत्साहित भएका छन् । कट्टेलका अनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ ।

रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिने उहाँले बताउनुभयो । राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताउनुभयो ।

कलाकारिताबाट समाजसेवामा लाग्नुभएका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ । ती बस्तीमा ३ सय २० बढी परिवार बसोबास गर्दै आएका छन् ।