Spread the love
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । केही वर्षयता सेल्फी मोहले थुप्रै दुर्घटना निम्त्याएको खबर धेरै सुन्नमा आएको छ ।

यसै क्रममा पछिल्लो समय सेल्फीले मानिसहरुमा एक फरक किसिमको मानसिक रोग पनि विकास गराइरहेको छ । राम्रो सेल्फीका लागि मानिसहरुले प्रयोग गर्ने फिल्टर नै सबै समस्याको जरा भएको विश्लेषकहरुको भनाइ छ ।

यसरी फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता प्रख्यात सामाजिक संजालका बीच समेत प्रयोगकर्ताहरुलाई आकर्षक फिल्टर प्रदान गर्नमा प्रतिस्पर्धा हुने गरेको छ । यसबाहेक फिल्टरयुक्त क्यामरा र अन्य एपहरु पनि हिजोआज उत्तिकै लोकप्रिय रहेका छन् ।

त्यस प्रकारका फिल्टरले कालो मान्छेलाई गोरो बनाउनुका साथै छालालाई समेत अत्यन्तै सफा, चिल्लो बनाइदिने गरेको छ जुन चिकित्सकहरुका लागि समेत असम्भव र मानिसमा अप्राकृतिक मानिन्छ ।

त्यस्तै स्न्यापच्याटका फिल्टरले भने हाम्रो आँखा ठूलो बनाउने, नाक स्लिम पार्ने, ओठ ठूलो बनाउने र मुखको आकार समेत परिवर्तन गर्ने गरेको छ । यस्तोमा युवाहरु यिनै कृत्रिम फिचरलाई वास्तविक बनाउन अप्राकृतिक तरिका अपनाइरहेको पाइएको छ । यसैको प्रभावमा १६ देखि १८ वर्षीया किशोरीहरु समेत चाउरीपना हटाउन बुटोक्सको र नाक अनि ओठमा फिलर लगायत प्लास्टिक सर्जरीको साहारा लिइरहेका छन् ।

यसरी विभिन्न फिल्टरमा लिइएका सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेपछि सो व्यक्तिले कमेन्ट र लाइकमार्फत सबैको ध्यान केन्द्रित गराएकामा क्षणिक सन्तुष्टि प्राप्त गर्ने गर्दछ । तर त्यही व्यक्तिले हरेकपटक ऐनामा हेर्दा आफूलाई सेल्फी भन्दा धेरै फरक पाउँछ जसले पछिल्लो समय धेरै युवाहरुको मनोबल घटाएर नयाँ रोगको उत्पति गराएको छ ।

कस्मेटिक डाक्टर ट्रिजन एसोले ‘बडि डिस्मोर्फिक डिस्अर्डर’ बिडीडी नाम दिएको यो मानसिक रोग सेल्फी मोहले नै सुरु गर्ने गरेको छ । यसका बिरामी आफ्नो शारीरिक स्वरुपमा काल्पनिक दोषलाई लिएर हरेक क्षण तनावमा रहने गर्छन् भने यिनमा सेल्फीको असामान्य लत हुन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार फिल्टरकै कारण सामाजिक संजालमा ‘पर्फेक्ट’ तस्बिरका लागि प्रख्यात धेरै मानिस व्यक्तिगत जीवनमा आफ्ना प्रशंसक र फलोअरसँग प्रत्यक्ष भेट्न हिचकिचाउने गर्दछन् । किनकी वास्तविक जीवनमा तस्बिरको जस्तो सौन्दर्यलाई चिकित्सकहरुले समेत असम्भव ठहर गरिसकेका छन् ।

कुनै समय सेलिब्रेटीजस्तो मुखाकृति चाहने ग्राहकहरुले आजभोलि स्न्यापच्याटमा लिएको आफ्नै सेल्फी देखाएर त्यस्तै सफा र चिल्लो छाला माग गर्ने गरेको चिकित्सकहरुको भनाइ छ । यसरी किशोर किशोरीहरु भ्रामक सेल्फीको जालमा नराम्रोसँग फसिरहेको र वास्तविकता बिर्सँदै गएको मेडिकल रिपोर्टले जनाएको छ ।

यसैबीच ‘हामी किन आफ्नो यति धेरै तस्बिर लिइरहेका छौँ’ भन्नेबारे २०१७ मा गरिएको एक अध्ययनमा सेल्फी लिनु पछाडिका विभिन्न कारण पत्ता लागेका हुन् । यसमा धेरैले सामाजिक स्तर बढाउनदेखि कतिपयलाई सेल्फीले तनाव र नकारात्मक सोचबाट समेत राहत दिलाउने गरेको पाइएको हो ।

साथै सामान्य अवस्थामा मानिसले जीवनका सुखमय क्षणलाई याद राख्न पनि सेल्फी लिने गरेका छन् । अर्को अनुसन्धानमा भने सैल्फीको आफ्नै निजी र आन्तरिक उद्देश्य रहेको खुलासा भएको हो । जस्तै धेरै मानिसले, मोबाइलमा हजारौँ सेल्फी भएपनि त्यसलाई कतै शेयर नगरि राखेका हुन्छन् ।

२०१७ मा ‘कग्निटिक रिसर्च जोर्नालले उल्लेख गरेअनुसार ६०–६५ प्रतिशत मानिसले फिल्टर प्रयोग गरि एडिट गरिएका तस्बिर छुट्याउन सक्दैनन् । जसको अर्थ मानिस त्यस्ता तस्बिरमा बढी निर्भर हुन्छन् र गलत अपेक्षा राख्छन् । यसले धेरै युवालाई निराश र तनावग्रस्त बनाइदिने गर्दछ भने फिल्टर प्रयोग नगर्नेको मनोबलमा पनि ठूलो चोट पुग्ने गरेको छ । जसकारण उनीहरु कृत्रिम सुन्दरताको तरिका अपनाउन अझ प्रेरित हुन्छन् । त्यसैले विश्लेषकहरुले यसलाई ठूलो दुष्चक्र को नाम दिएका हुन् ।

यसअघि अमेरिकन एकेडेमी अफ फेसियल प्लास्टिक सर्जरीले गरेको सर्वेक्षणमा पनि ५५ प्रतिशत मानिसहरु सेल्फीमा राम्रो देखिनकै लागि सर्जरी गर्न उत्प्रेरित भएको पाइएको थियो । यसरी कुनै समय सामाजिक रुपमा अनुचित मानिने गरेको प्लास्टिक सर्जरी अहिले युवाहरुका निम्ति रमाइलो ट्रेन्डका रुपमा स्थापित भइरहेको पाइएको छ ।

तर सर्जरीको ट्रेन्डमा लागेर पछुताउनेहरुको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । धेरै मानिस जीवनभर गलत सर्जरीको भयानक परिणाम भोग्न बाध्य हुने गरेका छन् । यस्तै ट्रेन्ड विरुद्धको अभियानमा जुटेको एक संस्थाले अमेरिकामा मात्र वार्षिक यस्ता हजारौँ गुनासो आउने गरेको बताएको छ ।

यस्तोमा सर्जरीको विकल्पका रुपमा तस्बिर खिच्ने तरिका बदल्न पनि सुझाइएको छ । जस्तै फोनको मोडल अनुसार आफूले चाहे अनुरुप तस्बिर निकाल्न सकिन्छ भने राम्रो सेल्फी लिन धेरैले निश्चित एङ्गलको प्रयोग गर्ने गरेको पनि पाइएको छ । तर राम्रो फोटो निकाल्न विभिन्न कोशिस गरिरहँदा हामीले तस्बिर बदल्ने प्रयास गरेका हौँ या वास्तविकता भन्ने प्रश्न पनि उठाइएको छ । धेरै सेल्फी लिने व्यक्तिमा बिडिडीको अधिक खतरा हुन्छ ।

डेनी बोम्यान नामक व्यक्ति बेलायतका पहिला सेल्फी एडिक्ट हुन् । जसपछि उनलाई बिडिडि भएको पत्ता लागेको हो । एक अन्र्तवार्तामा बोल्दै उनले आफूले दैनिक घण्टौँ ऐना हेरेर बिताउने गरेको र दिनमा दुईसय भन्दा बढी सेल्फी लिएर त्यसलाई नियाल्दै बस्ने गरेको बताएका थिए ।

हरेक पटक नयाँ तस्बिर लिँदा उनी आफ्नो सौन्दर्यमा सुधार खोज्ने गर्दथे जसले नै उनमा यो रोग विकास गराएको बताइएको थियो । यसरी १२ हप्ताको परामर्श र उपचारपछि आज उनी आफ्नो वास्तविकतासँग सन्तुष्ट छन् । पर्फेक्ट फोटोको आशामा उनले दिनहुँ आफूलाई दबाब दिने गरेको तर अहिले मात्र आफूले ‘पर्फेक्ट भन्ने केही पनि हुँदैन भन्ने बुझेको बताएका हुन् । – द गार्जियनबाट