Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अनुदानमा सञ्चालित अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याकबोन नेटवर्कको काम अलपत्र परेको छ ।

प्राधिकरणले १२ अर्ब ७० करोड रुपैयाँ लागतमा मध्यपहाडी लोकमार्गमा ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याकबोन नेटवर्क विच्छाउने कामको जिम्मा नेपाल टेलिकम, यूटीएल र स्मार्ट टेलिकमलाई दिए पनि ती कम्पनीहरूले उक्त काम सकेका छैनन् ।

कम्पनीहरूले प्राधिकरणसँग सम्झौता गरेर सोहीअनुसारको काम नगरेका कारण परियोजना अलपत्र परेको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट उक्त परियोजना संचालन गरेको हो । प्राधिकरणको अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ ।

नेपाल टेलिकमसँग प्राधिकरणले २०७३ असोज उक्त परियोजना सम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार गत असोज ११ मा काम सम्पन्न भइसक्नुपर्ने थियो । तर, नेपाल टेलिकमले काम सम्पन्न गर्ने समयमा बोलपत्र मात्रै आह्वान गरेको छ । प्राधिकरणले नेपाल टेलिकमलाई चार अर्ब ८७ करोड अनुदान रकम उपलब्ध गराउने सम्झौता भएको छ ।

यूटीएल र स्मार्ट टेलिकमको अवस्था अझ टिठलाग्दो छ । प्राधिकरणले यूटीएलसँग दुई अर्ब एक करोडको लागतमा प्रदेश ४ र ५ का सबै जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न २०७४ वैशाखमा सम्झौता गरेको हो ।

आगामी वैशाखसम्म काम सक्नुपर्ने यो परियोजनामा युटीएलले भर्खरैमात्र प्राधिकरणबाट प्राविधिक विवरण स्वीकृत गराएको छ ।अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाअन्तर्गत काम गरिरहेको स्मार्ट टेलिकमले प्रदेश ६ र ७ मा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क विस्तार गर्ने जिम्मा लिए पनि अहिलेसम्म प्राधिकरणबाट सर्भिस म्याट्रिक्स, लाइन डायग्राम र प्राविधिक विवरणमात्रै स्वीकृत गराएको छ ।

स्मार्ट टेलिकम यो परियोजना २०७६ साउन २ भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । प्राधिकरणबाट तीन अर्बभन्दा बढी रकम पाउने छ । सरकारी स्वामित्वको टेलिकमले नै परियोजना ढिला गर्दा अन्य कम्पनीलाई पनि कारबाही गर्न नसकिएको प्राधिकरणको भनाइ छ । त्यसो त यूटीएल पहिलादेखि नै विवादमा फसेको थियो । अझ कम्पनीले ज्वाइन्ट भेन्चर ल्याउँदा ढिलाइ भएको छ ।