Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । दोस्रो बजारमा जलविद्युत् कम्पनीको शेयरले आधारभूत मूल्यभन्दा माथिको यात्रा तय गर्न सकिरहेको छैन । बजार निरन्तर ओरालो लागिरहेको बेला अधिकांश कम्पनीको शेयरमा समस्या मात्रै छैन, लगानीकर्ताको ठूलो रकमसमेत डुबेको छ ।

विगतमा राम्रो आम्दानी भएका कम्पनी समेत यतिखेर सस्तोमा समेटिएका छन् । जसका कारण लगानीकर्तामा चरम रुपमा निराशा पैदा भएको छ । माथिल्लो तामाकोशीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि एकाध दिन बजारमा उल्लास छाएको थियो । तर, पछिल्ला दिनमा सो कम्पनीको शेयरमा समेत गिरावट आएपछि अवस्था उस्तै हुन पुगेको छ ।

शेयर लगानीकर्ताले नराम्ररी घाटा खाइरहेको बेला पछिल्लो दिनमा हाइड्रोपावरको साधारण शेयर (आईपीओ) समेत बिक्री नहुने अवस्थामा पुगेको छ । दोस्रो बजार निरन्तर ओरोलो लाग्नु, जलविद्युत् कम्पनीको पे ब्याक पिरियड औसतमा आठ वर्ष हुनु जस्ता कारणले गर्दा लगानीकर्ताको निराशा बढ्दै गएको छ ।

कुनै समय ३३ सय रुपैयाँको हाराहारीमा पुगेको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत अहिले ५ सय रुपैयाँको आसपासमा रहन पुगेको छ । यस्तै कुनै समय अपि पावर कम्पनीको शेयर समेत ७ सयमाथि पुगेको थियो । यस्तै सरकारी लगानी समेत रहेको बुटवल पावर कम्पनीको शेयर समेत घटेको छ । सो कम्पनीले ५०१ रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । तर, सो कम्पनीको शेयरले समेत यतिखेर लगानीकर्तालाई नराम्ररी डुबाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २४ हाइड्रोपावर कम्पनीमध्ये एकाधको मात्रै शेयरको अवस्था राम्रो रहेको तर अधिकांश कम्पनीको शेयर मूल्य साधारण शेयरको मूल्यको आसपासमा नै रहेको छ ।

राम्रो फाइदा हुने लक्ष्यका साथ लगानी गरेका लगानीकर्तालाई जलविद्युत् कम्पनीको शेयर नखाँउ भने दिनभरीको शिकार खाऊ भने कान्छा बाबुको अनुहारजस्तै हुन पुगेको छ ।दोस्रो बजार मात्रै होइन पहिलो बजारमा समेत लगानीकर्ताले जलविद्युत् कम्पनीका शेयर खरिद गर्न छोडेका छन् ।

शिवश्री हाइड्रोपावर कम्पनीले केही दिन पहिले साधारण शेयर बिक्री शुरु गर्याे । आयोजना प्रभावित सिन्धुपाल्चोकबासीलाई बिक्री गरिएको साधारण शेयरमा लगानीकर्ताले चासो देखाएनन् । किनकी जलविद्युत् कम्पनीका शेयरबाट फाइदा हुँदैन भन्ने देखिएपछि लगानीकर्ताले शेयर खरिद गरेका छ्रैनन् । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १० प्रतिशतले हुने आईपीओ बिक्री गरेको थियो । कम्पनीको एक अर्ब ४७ करोड ६४ लाख बराबर चुक्ता पूँजी रहेको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीले न्यूनता ५० कित्ता र अधिकतम ७ हजार ३८० कित्ता बराबरको शेयर आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । यही माघ ११ गतेसम्म बिक्री गर्ने सीमा तय गरिएको सो कम्पनीको शेयर बिक्री नभएपछि सात दिनको म्याद थप गरिएको छ ।
सो कम्पनीको वित्तीय अवस्था कमजोर भएको भन्दै इक्रा नेपालले ग्रेड चार दिएको थियो ।

यस्तै युनिभर्सल पावरको समेत साधारण शेयर बिक्री भएको छैन । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरेको साधारण शेयरमा कम आवेदन परेपछि दोस्रोपटक म्याद थप गरेको छ । गत पुस २९ गतेसम्म मात्रै आवेदन दिन पाउने व्यवस्था भए पनि माघ ६ गते नै पुनः म्याद थप गरेर आजसम्मका लागि समय तोकिएको थियो । आजसम्म पनि कम्पनीको साधारण शेयर बिक्री हुन सकेको छैन । जसका कारण कम्पनीले पुनः म्याद थप गर्ने तयारी गरेको छ । हालसम्म २ हजार ५९२ जनाले मात्रै आवेदन दिएका छन् । यो कुल १३.५७ प्रतिशत मात्रै हो ।

कम्पनीले गत पुस १५ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले २१ करोड रुपैयाँ बराबरको शेयर जारी गरेकोमा हालसम्म २ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्री गरेको छ । यस कम्पनीको पनि वित्तीय अवस्था खराब रहेको भन्दै इक्रा नेपालले ग्रेड चार रेटिङ गरेको थियो ।