Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

विराटनगर । प्रदेश १ को संखुवासभास्थित मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको चर्चित विद्युत् परियोजना अरुण तेस्रो आयोजनाको काममा बिचौलियाकै कारण ढिलाइ हुने भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाले सन् २०२२ सम्ममा ९ सय मेगावाट क्षमताको जलविद्युत् उत्पादन सुरु गर्ने लक्ष्यको लिए पनि उक्त आयोजनामा बिचौलियाको काम गर्दै आएका होटल व्यवसायीको चलखेल बढेको छ ।

होटल व्यवसायी तथा ट्राभल एजेन्सी सञ्चालक पुण्य भट्टराई र निर्माणकर्ता भारतको सतलज हाइड्रोका सीईओ सतिश कुमार शर्माबीचको कमाउ प्रवृत्ति हावी हुन थालेपछि राष्ट्रिय गौरवको आयोजना नै प्रभावित हुने खतरा बढेको हो । आयोजना निर्माण सुरु भएको नौ महिना अवधिमा १५ प्रतिशत मात्र काम पूरा भएको निर्माण कम्पनी स्रोतले बतायो । विराटनगरमा होटल एशियाटिक सञ्चालन गर्दै आएका व्यवसायी पुण्य भट्टराईले उक्त आयोजनामा आउने भारतीयहरुबाट कसरी होटल र ट्राभलको बिल बनाउन सकिन्छ भन्दै आयोजनालाई पछि पार्ने काम गरेको स्रोतले जानकारी दियो ।

एक वर्षभित्र आयोजना निर्माणस्थल दोभानमा उच्च बाँध निर्माण गरी सुरङमार्गबाट ११ दशमलव ७ किलोमिटरको दूरीमा रहेको दिदिङमा बन्ने पावर हाउससम्म पानी ल्याइपु-याउनुपर्ने थियो । तर नौ महिना बित्दा पनि उक्त कामले कुनै सुरसार समेत गरेको छैन । नौ महिनापछि बल्ल चार स्थानबाट सहायक सुरुङ खन्ने काम थालिएको छ । सतलज हाइड्रोका सीईओ शर्मा र होटल व्यवसायी भट्टराईको साँठगाँठ रहेको समेत स्रोतले बतायो । समाचारस्रोतका अनुसार मुख्य सुरुङसम्म पुग्नका लागि दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ मार्गको ५ सय ९ मिटर लम्बाइमध्ये हालसम्म ३ सय ४७ मिटरको काम मात्र सकिएको छ । जबकि प्रवेश सुरुङ मार्ग अहिलेसम्म सकिनुपर्ने लक्ष्य आयोजनाको थियो । चारवटा प्रवेश सुरुङको काम सकिएसँगै एकैपटक आठ स्थानबाट मुख्य सुरुङमार्गको काम थालिने भन्दै सीईओ शर्माले आफैँ आयोजनालाई पछि पारेको स्रोतको दाबी छ ।

त्यसैगरी बाँध निर्माणस्थल दोभानमा अरुण नदी डाइभर्सन गर्न तीन सय ९३ मिटर दूरीको सुरुङ निर्माणको कामले समेत अहिलेसम्म पनि गति लिन सकेको छैन । बाँध निर्माणका लागि अहिलेसम्म खनिएको डाइभर्सन सुरुङको ६५ मिटरको काम मात्र सकिएको छ । यसबाट पनि अरुण तेस्रोले समयमा काम सम्पन्न गर्ने कुरामा आशंका जन्माएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरुपमा उद्घाटन गरी सन् २०२२ सम्ममा निर्माण पूरा गर्ने सम्झौता भएको थियो । तर आयोजनामा खटिएका कर्मचारी र नाफामुखी व्यापारीको चंगुलमा फस्न पुगेपछि आयोजनाले तोकिएको समयमा अरुण तेस्रोबाट बिजुली निकाल्न नसक्ने वातावरण बन्न पुगेको स्थानीयको भनाइ छ । बाँध क्षेत्रबाट सुरुङमार्गको काम अहिले पनि अगाडि बढ्न नसकेपछि आयोजना निर्माणमा थप शंका उत्पन्न भएको छ । आयोजनाले पावर हाउससम्म पानी पु-याउन सुरुङ ११ दशमलव ७ किलोमिटर निर्माण गर्नुपर्नेछ हुन्छ तर नौ महिना बित्दा उक्त कामले कुनै गति समेत लिन पाएको छैन ।

अहिलेसम्म संखुवासभाको छ्याङकुटीबाट विद्युत् गृहसम्म कच्ची सडक खन्ने कामले मात्र पूर्णता पाएको छ । सन् २०२२ मा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सतलजले निर्माणको काम अब नरोकी तीव्र रुपमा अगाडि बढाउने जनाएको छ । तर सीईओ शर्माको लापरबाही र आयोजनाको अवधि लम्ब्याउने खेलमात्र भएको छ । आयोजना २०४२ सालदेखि चर्चा चलेको भए पनि राजनीतिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । २२ वर्षपछि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आयोजनाको उद्घाटन गरे पनि निर्माण कम्पनीका जिम्मेवार सीईओदेखि होटल व्यवसायीको शिकार बन्न पुगेपछि अरुण तेस्रो आयोजना अन्योलमा परेको हो । आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रूपैयाँ रहेको छ ।