Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एक जना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन् ।

बैठक सञ्चालन भएको केही समयपछि समिति सभापति शशी श्रेष्ठले समिति सदस्यले भिडियो खिच्न नपाउने भन्दै त्यसलाई हटाउन आदेश दिएकी थिइन् ।

सभापति श्रेष्ठले सो आदेश दिएपछि सांसद साहले पत्रकारले भिडियो खिच्न हुने हामीले नहुने भन्ने जवाफ दिँदै त्यसलाई हटाएका थिए । ‘पत्रकारले मात्र पाउँछन् तपाईंले पाउनु हुन्न माननीय ज्यू, त्यसलाई हटाउनुस्,’ समितिको मर्यादा कायम गर्नुस्,’ सभापति श्रेष्ठले भनिन् ।