Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

कैलाली । राष्ट्रिय गौरबको आयोजनामा नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ भन्ने प्रश्न गरियो भने के जवाफ आउला ? इमान्दार, कर्तब्यनिष्ट र लगनशील । तर, पूर्वी कैलालीमा अर्बौ रुपैयाँ लगानीमा निर्माण भइरहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका प्रमुख मधुकर रानाको हकमा भने त्यसो भन्ने अवस्था छैन ।

प्रचुर संभावना भएर पनि कृषि उत्पादनमा बृद्धि गर्न नसकेर अभावग्रस्त जीवन ब्यतित गरिरहेका पूर्वी कैलालीको हजारौं किसानहरूको आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यका साथ सरकारले २०६६ सालमा रानी जमरा आयोजनाको निर्माण थालेको थियो ।

२०७५ मा निर्माण सक्ने लक्ष्य थियो । तर, आयोजना प्रमुख र कर्मचारीहरूको नालायकीपनका कारण यो आयोजना आगामी १० बर्षसम्म पनि पूरा नहुने छाँट देखिएको छ ।

सुरुमा विश्व बैंक र नेपाल सरकारको गरी १२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान गरिएको यस आयोजनाबाट करीब ३८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य छ । यो आयोजना सम्पन्न गर्न राज्यको करीब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजना निर्माणको पहिलो चरणको काम सकिएको करीब एक बर्ष पुग्न लाग्दा पनि दोश्रो चरणको काम सुरु हुन सकेको छैन ।

नेतृत्व सम्हालेको ६ महिनाको अवधिमा कुनै पनि उपलब्धि नदेखिंदा आयोजनाका कर्मचारीहरू नै प्रमुख रानाको आलोचना गर्न थालेका छन । राना सरुवा भएर आएपछिको अवधिमा के के काम गरे भन्ने विषयमा रानी जमरा कुलरिया सिंचाई आयोजनाका उपभोक्ताहरू प्रश्न गर्न थालेका छन् ।

आयोजनाको ढिलासुस्ती र अनियमित कामका बारेमा उपभोक्ताहरूले पटक पटक डेलिगेशन जाँदा पनि राना कानमा तेल हालेर बसेको उपभोक्ताहरूले आरोप लगाउदै आएका छन् । रानालाई आयोजना प्रमुखबाट हटाउन माग गर्दै केही दिनमै सिंचाई मन्त्री बर्षमान पुनलाई भेट्न काठामाण्डौ जाने तयारी गरिरहेको उपभोक्ताहरूले बताएका छन् ।

दोश्रो चरण अन्तर्गत रानी, जमरा र कुलरिया गरी यी तीनवटा नहरमा २÷२ का दरले ६ वटा इन्टेक निर्माण गर्नुपर्ने काम छ भने नहरका उपशाखाहरूमा करीब ५० वटा इन्टेक निर्माण गर्नु पर्नेछ । आयोजना प्रमुख कर्मचारीहरूको ढिलासुस्तीका कारण अहिलेसम्म केही काम भएको छैन । एक बर्ष यता कर्मचारीहरू बसीबसी तलब खाने काम मात्र गरिरहेको उपभोक्ताहरूको गुनासो छ ।

टीकापुर नगरपालिकाको वडा नम्बर ८ सत्ति बजार पूर्व कर्णाली नदीमा तटबन्धन निर्माणको ठेक्का लिएको दीपेन्द्र शाहीको सिद्दी शाही कन्ट्रक्सनले पहिलो चरण अन्तर्गत गर्नुपर्ने तटबन्धनको काम अधुरो छाडेर भागेको ३ बर्ष भइसक्दा पनि कसैले चासो नलिएकोमा उपभोक्ताहरूले चिन्ता व्यक्त गरेका छन ।

साईड हेर्ने बहानामा तरुनीसंग मस्तसंग घुमेर आयोजना प्रमुख रानाको दिन बित्ने गरेको गुनासो छ । प्रमुख रानालगायतका कर्मचारीहरू बस्नलाई सरकारले टीकापुरमा सुविधा सम्पन्न आवासको व्यवस्था गरिदिएको छ । महंगा महंगा गाडी उपलब्ध छन । यस्ता आयोजनाको प्रमुखलाई त्रिभुवन विमानस्थल, वीरगञ्ज र भैरहवा भन्सारको हाकिम भन्दा कम्ती सुविधा छैन ।

राज्यले यो सुविधा आयोजना छिटो छरितोरुपमा सम्पन्न होस् भनेर प्रदान गरेको हो । तर रानी जमरा आयोजना प्रमुख मधुकर रानाले भने राज्यले प्रदान गरेको यो सुविधा र हैसियतको व्यापक दुरुपयोग गरिरहेको खबर छ ।

सिंचाई मन्त्री वर्षमान पुनका प्रिय प्रमुख राना साईड हेर्ने बाहानामा करोड मूल्यको चिल्लो गाडीमा विहानै लम्की चिसापानी गएर रंगरंगिलामा मस्त हुने गरेको रहस्य खुलेको छ । उनी आए यता कुनैपनि काम भएको छैन । तर, आयोजना प्रमुख संधै लम्की चिसापानी मात्र जानुको रहस्य के हो भनेर चियो चर्चा गर्दा चिसापानीको डाँडामा युवतीहरूसंग मोजमस्ती गर्न र माछाभात खान मात्र उनी दैनिकजसो आउने गरेको स्थानीयको भनाई छ ।

स्त्री र यौन मामिलामा राना विवादमा परिरहने कर्मचारी हुन् । उनी जहाँ जहाँ हाकिम हुन्छन त्यहाँ उनले गर्ने यौन क्रियाकलापहरू छताछुल्ल हुने गरेको कर्मचारी स्रोत बताउछ । हाकिम भएर गएका आधा दर्जन कार्यालयहरूमा पद र पैसाको प्रभावमा सोझी युवतीहरूलाई बिहा गर्छु भन्दै यौन शोषण गर्ने गरेको रानामाथि आरोप लाग्ने गरेको छ ।

केही बर्ष अघि नुवाकोटको जिल्ला जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय देवीघाट कोलोनीमा राना हाकिम हँुदा कोलोनीको चौकीदारकी छोरीलाई विभिन्न प्रलोभनमा पारेर यौन शोषण गरेको घटना सार्वजनिक भएको थियो । बैंशले उन्मत्त चौकीदारकी छोरीलाई प्रलोभनमा पारेर यौन शोषण गर्दै आएका रानाको चर्तिकता पर्दाफास भएपछि सामाजिक दवावमा रानाले ती युवतीलाई श्रीमती स्वीकार गर्नु परेको थियो । नैतिक रुपमा बद्नाम राना तिनै कान्छी श्रीमतीसंग टीकापुरको क्वार्टरमा बस्दै आएका छन् ।

मदिरा र महिलाप्रति धेरै नै आशक्त रानाबाट आजित भएर सममानित परिवारकी सुशिक्षित उनकी जेठी श्रीमतीले सम्बन्ध बिच्छेद गरेर अलग्गै बस्ने गरेको श्रोतको भनाई छ । रानाको उमेरसंग तुलना गर्दा नातिनी उमेरकी कान्छी श्रीमतीले रानाको महिलाप्रतिको कमजोर चरित्रका कारण जता सरुवा भएर गएपनि नछाड्ने गरेको रानीजमरा कार्यालय श्रोतको भनाई छ । तर, पनि आफूसंगै बस्ने कान्छी श्रीमतीको आँखा छलेर पनि साईड हेर्ने बहानामा उनी तरुनीहरूसंग मोजमस्ती गर्ने गरेको समाचार सूत्रको भनाई छ । नैतिक, चारित्रिकरुपमा बदनाम राना सिंचाई विभागमा भ्रष्ट इन्जिनियरका रुपमा पनि चर्चित छन ।

रानाका समकालीनहरूकाबीच भ्रष्टाचार र कमिसनमा ख्याती कमाएका रानाले आर्जन गरेको धन मोजमस्तीमै सक्ने गरेको उनको पारिवारिक श्रोत बताउछ । स्वास्थ्यका कारण आजकाल मदिरा सेवन कम गरेपनि यौन मामिलामा भने दैनिक भौतारीरहने गरेको रानालाई चिन्नेहरू बताउछन ।

वर्षमानका प्रिय राना उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका इन्जिनियरहरू मध्ये मधुकर राना मन्त्री बर्षमान पुनका प्रिय पात्र मानिन्छन् । भ्रष्टाचार, कमिसन तथा सामाजिक सांस्कृतिक मामिलामा जतिसुकै बदनाम भएपनि प्रिय पात्र भएकै कारणले रानालाई मन्त्री पुनले अर्बौं रुपैया लगानीमा निर्माण भइरहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको प्रमुखको जिम्मेवारी दिए ।

अर्बौ रुपैयाँको बजेट भएका आयोजनाबाट करोडौ रुपैयाँ कमिसनको थैलीको प्रलोभनमा परेर मन्त्री बर्षमान पुनले मधुकर राना जस्ता कर्मचारीलाइ रानी जमराको प्रमुख बनाएको मन्त्रालयकै कर्मचारी बताउछन ।

रानालाई रानी जमराको आयोजना प्रमुख बनाउदा साझेदार संस्था विश्व बैंकले घोर आपत्ती जनाएको स्रोत बताउछ । आर्थिक र सांस्कृतिकरुपमा बदनाम रानाले काम गर्न सक्दैन अर्को राम्रो कर्मचारी पठाइदिनु भनेर मन्त्री पुनलाई बारम्बार अनुरोध गर्दा पनि उनले सुनवाई नगरेको विश्व बैंकका अधिकारीहरूको गुनासो रहेको साँघु स्रँेत बताउछ ।

विश्व बैंकका अधिकारीहरूले राना र मन्त्री पुनबीच आर्थिक साँठगाँठ भएको आशंका गरेको चर्चा छ । एक जना अधिकारीले साँघुलाई भने ‘‘लेनदेनको विषय नहुँदो हो त कार्यक्षमता नभएका, भ्रष्ट र नैतिकरुपमा पतन रानालाई मन्त्री पुनले संरक्षण गरिरहेका छन ?’’

कमाण्ड मिच्दै नेता खुसी पार्दै रानी, जमरा र कुलरिया तीनवटा कुलाबाट मात्र सिंचाई हुने करीब ३८ हजार हेक्टर खेतीयोग्य जमिन समेटिएको महत्वपूर्ण क्षेत्रलाई आयोजना कमाण्ड एरिया (क्याड) भनिन्छ । आयोजनाको बजेट कमाण्ड एरिया बाहिर लगानी गर्न नमिल्ने प्राब्धान छ । तर मधुकर रानाले कमाण्ड एरिया मिच्दै लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ र २ भई दक्षिण बग्ने रोरा खोलामा ३७ सय मिटर तटबन्धन गरिरहेको छ ।

कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावल, लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईलगायत स्थानीय नेताहरूको दवावमा कमाण्ड एरियाको बजेट डाईभर्ट गरेको श्रोतको भनाई छ । यसरी पूर्व निर्धारित कार्यक्रमलाई तोडमोड गरेकोमा कमाण्ड एरियाका उपभोक्ताले आपत्ती जनाएका छन ।

आयोजनाको बजेट कमाण्ड एरिया बाहिर लगानी गर्नु गलत भएको रानी जमरा कुलरिया मूल समितिका उपाध्यक्ष दामोदर खड्का बताउछन । आयोजना प्रमुख रानाले भ्रष्टाचार र अनियमितताका कुकर्म लुकाउन स्थानीय तहका प्रमुख र सांसदलाई व्यक्तिगत प्रभावमा पार्न रोरा खोलामा तटबन्धन निर्माण गरिदिएको उपभोक्ताहरूको भनाई छ ।

रोरा खोलाको वारीपारी लम्की चुहाका अधिकांश स्थानीय नेताहरूको जग्गा छ । उक्त खोलाको किनारमा संविधान सभाका पूर्व सदस्य भगत बढुवाल, नेकपाका नेता बखत विष्ट, चुडामणि भण्डारी, राजु राठौरलगायतका वरिष्ठ मानिसहरूको जग्गा भएकाले उनीहरूको जग्गा कटानीबाट जोगाउन तटबन्धन निर्माणका लागि आयोजना प्रमुख माथि दवाव पारिएको श्रोतले बतायो ।

यिनीहरूले रोरा खोला आसपासको ऐलानी जग्गा आफ्नो जग्गामा मिसाउने गरी तटबन्धन गर्न आयोजनाका इन्जिनियरहरूलाई दवाव दिन थालेपछि केही दिन अघि तटबन्धनको काम रोकिएको एक जना इन्जिनियरले साँघु सम्बाददातालाई बताए । (साँघु साप्ताहिक)