Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । समाज कल्याण परिषद् कार्यालयको भित्तामा लेखिएको छ– मन, वचन र कर्मले सेवा गरौं । सामाजिक सेवा गर्न भनेरै परिषद् स्थापना गरिएको हो ।

तर यसको नेतृत्व गर्नेहरूले भने आफ्नो सेवामा स्रोतसाधन खर्चिरहेका छन् । संस्थाको हित बिर्सेर सुविधामा ब्रह्मलुट मञ्चाइरहेका छन् । परिषद्का पदाधिकारीले गाडी खरिददेखि कर्मचारी भर्ना र सेवा सुविधा तोक्नेसम्मका काममा आफ्नै हात जगन्नाथ गरिरहेका छन्। अन्नपूर्णको खोजबिनमा उनीहरूले नियम विपरीत र संस्थालाई व्ययभार बढाउने गरी सुविधा लिइरहेको पाइएको छ ।

०७३ सालमा परिषद्मा नयाँ पदाधिकारी चयन भएका थिए । तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीपी मैनालीले उपाध्यक्षमा नीलमणि बराल, सदस्य सचिवमा डिल्ली भट्ट, कोषाध्यक्षमा वीरबहादुर ठगुन्ना, र इन्द्रकुमार झा नियुक्त गरे । पुष्पकमल दाहाल सरकारको पालमा सदस्य गोकर्ण भट्ट नियुक्त भए ।

यी पदाधिकारीले परिषद् छिर्ने्बित्तिकै तीन वटा स्कोर्पियो गाडी किने । एउटैका लागि ६९ लाख रुपैयाँ तिरियो । त्यसअघि परिषद्सँग एउटै गाडी थिएन । अन्य संस्थासँग मागेर काम चलाउन उचित नभएकोले गाडी किनिएको पदाधिकारीको तर्क छ । गाडी खरिदसँगै ड्राइभर र पिए पनि नियुक्त गरे ।

एनजीओको कार्यक्रममा जाँदा हामी हेपिने स्थिति भयो भन्ने तर्क प्रस्तुत गर्दै उनीहरु कर्मचारीबाट निर्णय स्वीकृत गराएर पैसा निकाल्न सफल भए । अहिले उक्त गाडी व्यक्तिगत काममा दुरुपयोग गरिरहेका छन् । ‘पदाधिकारीको यस्तो सुविधाभोगी क्रियाकलापले खर्च मात्रै बढेको छ,’ परिषद्का एक प्रशासकले अन्नपूर्णसँग भने । ती गाडी उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवले प्रयोग गरिरहेका छन् ।

परिषद्को कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्य सचिव रहने व्यवस्था छ । परिषद्को जग्गा भाडामा लगाउनेदेखि स्रोत परिचालन गर्नेसम्मका काम यो समितिले एकलौटी गर्दछ । कार्यसञ्चालन समितिले गरेको निर्णय बोर्डबाट अनुमोदन गर्ने प्रावधान छ ।

तर समितिले गरेका निर्णयमा बोर्डमा कुनै छलफल हुँदैन । सरासर पारित हुन्छ । ‘कार्यसञ्चालन समितिबाट निर्णय गरी उनीहरूले काम गर्छन् । हामीले त्यसको सरासर कार्यान्वयन गर्नेबाहेक केही गर्न सक्दैनौं,’ परिषद्का प्रवक्ता हरि तिवारीले भने ।

पदाधिकारीले आफन्तलाई जागिर लगाएका छन् । स्थायी परीक्षामा पास गर्न नसकेका र विदा गरिएका कर्मचारीलाई भर्ना गरिएको छ । १३ वर्षदेखि काम गरेका पियनदेखि अधिकृतसम्मका कर्मचारीलाई परिषद्ले सुविधासहित विदा गरेको थियो ।

त्यसका लागि ७२ लाख रुपैयाँ व्ययभार परेको थियो । तर पदाधिकारीले विदा गरिएकामध्ये आफू निकटका कार्यकर्ता खोज्दै भर्ना गरेको स्रोतले बतायो । कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले छोरी उर्मिला ठगुन्ना र ज्वाइँ परिषद्मा नासुको रुपमा छिराएका छन् । निलमणि बरालले बालिका थापालाई खरिदारको रुपमा भर्ना गरेका छन् ।