Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–११, मा भारतीय पक्षले दशगजा क्षेत्रमा पुनः एकपक्षीय रूपमा नाली निर्माण तथा तारजाली बनाउन थालेको छ । नेपाली पक्षले विरोध गरेपछि केही दिन रोकिएको सो निर्माण कार्य पुनः सुरु भएको छ ।

भारतीय पक्षले कञ्चनपुरको सीमास्तम्भ १५३÷१७१ नम्बरमा डोजर लगाएर सो क्षेत्रमा दुई किलोमिटर लामो नाली तथा तारजाली गर्न लागेको हो । झन्डै १ सय ५० मिटरसम्म निर्माण कार्य अघि बढाउँदा नेपाली पक्षले विरोध गरेपछि अर्को व्यवस्था नभएसम्म सो कार्य रोकेको थियो । शनिबारदेखि पुनः डोजरसहित नाली निर्माण गर्ने कार्य अघि बढेको छ ।

गौरीफन्टा खिरी दुधवा नेसनल पार्कका डेपुटी डाइरेक्टर महावीर कौजलगिको आदेशमा नाली पुनः निर्माण कार्य अघि बढाइएको बताइएको छ । डेपुटी डाइरेक्टर कौजलगीले बिहीबार सो क्षेत्रको निरीक्षण गर्दै ‘काम अघि बढाउन’ निर्देशन दिएका थिए । उनले निर्देशन दिँदै भनेको थिए, ‘यो हाम्रै सीमाभित्र निर्माण भइरहेको छ । यदि नेपाली पक्षलाई आपत्ती छ भने पत्र पठाउनुहोस् ।’

अघिल्लो शुक्रबार बसेको बैठकले सर्वपक्षीय बैठकबाट यसको निकास निकाल्ने सहमति गरिए पनि बैठक नबस्दै डेपुटी डाइरेक्टरको निर्देशनमा नेपाल पक्षलाई जानकारी नै नदिई निर्माण कार्य अघि बढेको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भारत वा नेपालले सीमामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा दुबै पक्षलाई जानकारी दिएर मात्र काम गर्नुपर्ने बताए ।

भारतीय सीमा सुरक्षा बलका निरीक्षक अभय यादवले तस्करी, लागुऔषध ओसारपसार तथा आपराधिक क्रियाकलाप रोक्न नाली तथा तारजाली निर्माण गरिन लागेको बताए । उनले सीमा मिच्ने तथा नेपाली पक्षलाई दुःख दिने हाम्रो उद्देश्य होइन भने । भारतीय सुरक्षा अधिकारी यादवले आफूहरूले भारतको भूमिमा नै नाली तथा तारजाली निर्माण कार्य गरिरहेको पुनः दोहो¥याएका थिए ।

दुधवा नेसनल पार्कका फरेस्टर मनोज कुमारले जंगली जनावरहरू सिधैँ नेपालतर्फ जानबाट रोक्न तथा सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नाली तथा तारजाली निर्माण कार्य अघि बढाइएको बताए ।

उनले अन्तर्राष्ट्रिय जैविक मार्गमा कुनै पनि किसिमको अवरोध नपु¥याइने बताए । दुधवा राष्ट्रिय निकुञ्ज तथा नेपालको लालझाडी वन र शुक्लाफाटा बन्यजन्तु आरक्ष जोडिएकाले एकअर्का ठाउका वन्यजन्तु ओहोरदोहोर गर्दै आएका छन् ।

वन संरक्षणकर्मी राजबहादुर ऐरले अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले तारजाली निर्माण गर्न नहुने बताए । भारतले पुनः नाली निर्माण कार्य अघि बढाएपछि त्यसक्षेत्रका स्थानीयले विरोध जनाएका छन् । उनीहरूले भारतले सीमा मिच्ने उद्देश्यले सो कार्य अघि बढाएको आरोप लगाएका छन् । चार वर्षअघि पनि भारतीय पक्षले यसरी नै नेपाली भूमिका नाली खनेको थियो स्थानीयको विरोधपछि पुरिएको थियो ।