Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका प्रतिपक्ष भनि चर्चामा रहेका नेता भीमबहादुर रावलले भाँडभैलो मच्चाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सुदूरपश्चिम प्रदेश भ्रमण विथोलिएको छ ।

प्रधानमन्त्रीसंगै नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ र महासचिव विष्णु पौडेल पनिसंगै जाने निश्चित भएको थियो ।प्रधानमन्त्री ओलीले २०७५ माघ २० गते सुदूरपश्चिम प्रदेशको संसद र त्यसपछि नेकपाको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

२०७५ पुस २७ गतेको प्रदेश कमिटीको बैठकले प्रशिक्षणको मिति सर्वसम्वतले निर्णय गरेको थियो । स्वास्थ्यले साथ दियो भने २०७५ माघ २१ गते कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सुरु हुने महोत्सवको उद्घाटन समारोहमा पनि सरिक हुने प्रधानमन्त्रीको कार्यक्रम थियो ।

तर, नेकपा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज भीमबहादुर रावलले आफू निकटका प्रदेश सदस्यहरूलाई २०७५ माघ १२ गतेको प्रदेश कमिटीको छलफल विथोल्न लगाएपछि प्रधानमन्त्रीलगायतका नेताहरूको भ्रमण अनिश्चित भएको छलफलमा सहभागी एक नेताले बताए ।
प्रदेश अध्यक्ष कर्ण थापाले प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरू धनगढी आउने कार्यक्रमका बारे व्यवस्थापकीय छलफल गर्न उपलब्ध प्रदेश सदस्यहरूको बैठक बोलाएका थिए । बैठकमा करीब ४० जनाको उपस्थिति थियो ।

बैठकका एकजना सहभागीले भने ‘‘प्रधानमन्त्रीलगायतको भ्रमणको व्यवस्थापनका बारेमा बारेमा छलफल हुँदै थियो । प्रदेश सदस्य अछामका मिनबहादुर कँुवरले जुरुक्क उठेर बैठक बहिस्कार गर्ने घोषणा गरे । साथै कँुवरले प्रदेश इन्चार्ज रावल निकटका सदस्यहरूलाई बैठक छाड्न आव्हान गरेपछि २०७५ माघ १२ गतेको बैठक बिना निष्कर्ष टुङ्गियो’’ । प्रदेश सदस्य मिनबहादुर कुँवर इन्चार्ज रावलका नातेदार हुन् ।

बैठक चलिरहँदा काठमाण्डौमा रहेका इन्चार्ज रावलसंग कुँवरको बारम्बार फोन सम्पर्क भइरहेको कुरा खोल्दै एकजना सहभागी नेताले भने ‘‘काठमाण्डौबाट रावलले जे जे निर्देशन दिन्थे कँुवरले छलफलमा त्यै कुरा भन्थे, एकछिन पछि त बहिस्कार गरौं भन्दै उठेर गए ।’’ ‘‘कुवरले हंगामा गरेपछि बैठकमा रहेका प्रदेश सह इन्चार्ज लक्ष्मीदत्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापा र सचिव नेपबहादुर चौधरीले संयमता अपनाउन गरेको आग्रहको पनि केही जोड चलेन’’ बैठकमा सहभागी एकजना सदस्यले भने । सुदरपश्चिममा प्रधानमन्त्री लगायत शीर्ष नेताहरूको भ्रमण किन रोक्न खोज्दैछन् भीमबहादुर रावल ? यस्तो प्रश्न अधिकांश नेता कार्यकर्ताले गर्न थालेका छन ।

प्रधानमन्त्रीलाई झुठो सूचना

भीमबहादुर रावल दुई तिहाईको सरकारमा मन्त्री हुन चाहान्थे । तर उनलाई मन्त्री बनाइएन । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा थिए । यता भीमबहादुर रावल पार्टी र प्रधानमन्त्रीको घोर विरोध गरिरहेका थिए । रिपोर्टर्स क्लब र टेलिभिजनका अन्तरवार्ता शोहरूमा उनी छाएका थिए । यसरी आफ्नै पार्टीको प्रधानमन्त्रीको घोर विरोधमा उत्रिने रावल एक्ला नेता थिए ।

नेकपाको गठन भयो उनले महासचिव पाएनन् । नौ सदस्यीय सचिवालय सदस्यमा पनि अटाएनन् । वरिष्ठ नेता माधवकुमार नेपालले पनि मन्त्री बन्ने सूचीमा रावलको नाम नराखेपछि उग्र अभिव्यक्ति दिंदै आएका उनको विरोध अभियान सुदूरपश्चिम प्रदेशको इन्चार्ज भइसकेपछि अलि मत्थर भयो । तर कुण्ठा भने बेला बेलामा प्रकट हँुदै आएको छ । उनको यही कुण्ठाले प्रदेशमा नेकपा तीन धु्रबमा विभाजित देखिएको छ ।

नेकपाका एक जना केन्द्रीय सदस्य भन्छन ‘‘रावल कमरेड इन्चार्ज त हुन तर कार्यकारी अधिकार प्रदेश अध्यक्ष र सचिवमा निहीत छ । कतिपय निर्णयहरू अध्यक्ष र सचिवले लिन सक्छन ।’’ २०७५ माघ १२ गतेको धनगढीमा जम्मा भएका प्रदेश सदस्यहरू प्रधानमन्त्रीलगायतका नेताहरूको भ्रमण र प्रदेश स्तरीय प्रशिक्षणको व्यवस्थापनका लागि ६१ सदस्यीय कमिटी बनाउन सहमत भए ।

‘‘प्रदेश सदस्य मध्येका एक जना मिनबहादुर कँुवरले काठमाण्डौमा रहेका प्रदेश इन्चार्ज भीमबहादुर रावललाई छलफलका कुरा गोप्य रुपमा सुनाएछन् । रावलले प्रदेश अध्यक्ष कर्ण थापालाई फोन गरेर ६१ जनाको नामावली माग गरेछन् । अध्यक्ष थापाले नामावलीका विषयमा छलफल भइरहेको फाइनल भएपछि पठाउछु भनेछन ।’’ छलफलमा सहभागी एकजना प्रदेश सदस्यले साँघुलाई घटनाक्रम सुनाउदै भने–त्यसपछि प्रदेश इन्चार्ज रावल निकट मानिएका मिनबहादुर कुँवरले आफू निकटकालाई बैठक नै बहिस्कार गरेर हिंड्न आव्हान गरेपछि सबै भताभुङ्ग भयो । सबै आआफ्नो बाटो लागे ।

घटनाक्रमको पृष्ठभूिमले नेता रावलमा विचलन आएको बुझाई छ प्रदेशका नेता कार्यकर्ताहरूको । एकजना नेताले भने ‘‘सुदूरपश्चिमको नाममा काठमाण्डौमा धम्क्याउदै पद र हैसियत कब्जा गर्दै आएका रावल पछिल्लो समयमा प्रदेश इन्चार्जमा सीमित पारिएका छन । पार्टी एकीकरण पछि प्रदेशमा नेकपाका अर्का प्रभावशाली नेता लेखराज भट्टको पनि रावललाई सामना गर्नु परिरहेको छ । भूगोलमा प्रख्यात नेताका रुपमा परिचय बनाएका भट्ट पछि प्रदेश अध्यक्ष कर्ण थापा पनि रावलका लागि चुनौती बनेको नेता तथा कार्यकर्ताहरूको बुझाई छ ।

माघ १२ गते आफ्ना समर्थकहरूलाई उचालेर बैठक विथोल्न लगाएका रावल माघ १३ गते प्रधानमन्त्री भेट्न पुगे । प्रधानमन्त्रीले निर्धारित मितिमा धनगढी जान आफूलाई कुनै समस्या नभएको बताएको स्रोतको भनाई छ । रावलले प्रधानमन्त्रीलाई लेखराज भट्ट पक्षधरहरूको असहयोग रहेको, कांग्रेसको आन्दोलनले कार्यक्रम विथोल्न सकिने र घुसपैठ भएर ढुङ्गामुढा हुनसक्ने सूचना आफूले पाएकोले भ्रमण हाललाई स्थगित गरिएको जानकारी गराएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

रावलले माघ १२ गतेको धनगढीको बैठक विथोल्न लगाए माघ १३ गते प्रधानमन्त्रीलाई गलत सूचना पु¥याएर २०७५ माघ २० गतेको कार्यक्रम स्थगित गराएको नेकपा सुदूरपश्चिम प्रदेशको भनाई छ । यी सबै कुराहरूबाट विगतमा झै रावल प्रदेशमा भाँडभैलो मच्चाएर आफू फेरि शक्ति केन्द्रको मुखिया बन्न खोज्दैछन भन्ने संदेश गएको नेकपाका नेता कार्यकर्ताको विश्लेषण छ ।

रावलको सनक आफैलाई दनक

भीमबहादुर रावल २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौ महाधिवेशनबाट तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य बनेपछि लगातार २० बर्षसम्म सुदूररपश्चिम क्षेत्रको एक्लो कमाण्डर बने । त्यसअघि तत्कालिन एमालेको सेती अञ्चलमा भीमबहादुर कडायत र महाकाली अञ्चलमा प्रेमसिंह धामी नेता थिए ।

२०५४ साल भदौ २७ गते धामीको सडक दुर्घटनामा निधन भयो । छैठौं महाधिवेशनमा कडायत बामदेव गौतम नेतृत्वको माले पार्टीमा लागे । त्यसपछि सुदूरपश्चिममा एमालेका निर्विकल्प नेताका रुपमा भीमबहादुर रावलको भाग्य चम्क्यो ।

२० बर्ष नेतृत्व कालमा रावलले आफूलाई टक्कर दिनसक्ने संभावनाका कुनैपनि नेतालाई बाँकी राखेनन् । चाहे भूगोल होस् चाहे राजधानी काठमाण्डौंमा बसेर राजनीतिक करियर बनाइरहेका नेता कार्यकर्ता हुन रावलले कसैलाई पनि ठाडो उठन दिएनन् । सबैलाई दबाएर राखेको तत्कालीन एमालेका नेता कार्यकर्ताहरू बताउछन् ।

भूगोलमा फिटिक्कै काम नगरेका रावलले नेपाली राजनीतिको केन्द्र बिन्दूमा पुग्न कहिले झलनाथ खनाल कहिले माधव नेपाल त कहिले केपी ओलीको ढोका कुरिरहने काम गरे । पार्टी प्रमुखको घरको कम्पाउण्ड नै रावलको राजनीतिक भूगोल रहेको भन्दै नेकपाका नेता कार्यकर्ताहरू व्यङ्ग्य गर्छन् ।

सुदूरपश्चिमबाट कुनै पनि नेता कार्यकर्ताको सीधा सम्पर्क पार्टी प्रमुखसम्म रावलले बन्न नदिएको पीडित नेता कार्यकर्ताहरू बताउछन । विगतमा आफ्नो सानो झुण्डका भरमा सुदूरपश्चिम एमालेमा दबदबा कायम राख्दै आएको रावललाई आरोप लाग्दै आएको छ । आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्दै पार्टीका माथिल्ला जिम्मेवारीमा उक्लिन कोसिस गर्ने नेता कार्यकर्ताहरूलाई रावलले अवरोध गर्दै आएको उनको टिममा रहेर काम गरिसकेकाहरू बताउछन ।

आफूलाई आवश्यक परेका बेला पार्टीका क्षमतावान नेता कार्यकर्ताहरूलाई टिममा राख्ने स्वार्थ पूरा भइसकेपछि लात हान्ने प्रवृत्ति रावलमा रहेको उनका समकालीनहरू बताउछन । एकताका बझाङका भानुभक्त जोशीदेखि कैलालीका हिमाञ्चल भट्टराईसम्म मोहन सिंह राठौर, होरीलाल चौधरी, अछामका कृष्णप्रसाद जैसी लगायत दर्जनौ नेताहरू रावलका विश्वास पात्र थिए । राठौर हाल कांग्रेसमा छन ।

रावलकै कारण पार्टीको काम गर्नबाट बञ्चित रहँदै आएका पूर्व सांसद हिमाञ्चल भट्टराईले काठमाण्डौंबाट कैलालीमा संगठित सदस्यता सरुवा गर्न संगठन विभागमा निवेदन दिंदा रावलले अवरोध गरिराखेको स्रोतको भनाई छ । रावल अहंकारको खुलेर आलोचना गर्ने बाजुराका दयाल बहादुर शाहीलाई नेकपाको केन्द्रीय सदस्यबाट हटाउन लगाएको घटनाक्रमले पनि रावल कुन स्तरसम्म हस्तक्षेप गर्न रुचाउछन् भन्ने कुरा स्पष्ट भएको नेकपामा चर्चा हुने गरेको छ ।

एकताका सुदूरपश्चिम प्रदेशको तत्कालीन एमालेमा नेताहरूको सिनियर टिम नै रावललाई नेता मानेर अघि बढेका थिए । भूगोलमा काम गरेर खारिदै आएका नेताहरूबाट नेतृत्वमा आफूलाई चुनौती देख्ने र शंका उपशंका गर्ने रावलले केन्द्रीय नेतृत्वलाई नकारात्मक रिपोर्टिङ गर्दै माथि उठन नदिएको पनि आरोप लाग्दै आएको छ ।

कम्यूनिष्ट पृष्ठभूमिका सैद्धान्तिक नेता कार्यकताले साथ दिन छाडेपछि पूर्वपञ्च र कांग्रेसबाट भित्र्याएहरू रावलका सहयोगी बन्दै आएका छन् । अहिले सुदूरपश्चिम प्रदेशमा रावल निकट जे जति नेता कार्यकता नेकपामा छन । ती मध्ये पूर्वपञ्च र कांग्रेस पृष्ठभूमिका रहेको नेकपाका एक केन्द्रीय सदस्यले बताए । कम्युनिष्ट पृष्ठभूमिका नेता कार्यकर्ताहरूलाई देखि नसहने पञ्च र कांग्रेसबाट आएकालाई मात्र महत्व दिने भएपछि सुदूरपश्चिमका ठूलो संख्याका नेता कार्यकर्ताहरू रावलसंग रुष्ट हुँदै आएका छन् ।

भीमबहादुर रावलका निकट पिल्लरका रुपमा नेकपाका केन्द्रीय सदस्य झपट रावल अग्रपंक्तिमा छन । विद्यार्थी र युवामा काम गर्दा उल्टासीधा राजनीति गरेर भीमबहादुर रावलको संरक्षणमा उदाएका झपट रावलको पारिवारिक पृष्ठभूमि कांग्रेस र तत्कालीन राप्रपा हो । भीमबहादुर रावलले विगतमा पञ्च र कांग्रेस पृष्ठभूमि भएका नौ जना कुँवर थरका मानिसहरूलाई नेकपाको प्रदेश कमिटीमा ल्याएका छन । ती मध्ये कैलालीका बन माफियाका रुपमा चर्चित करोडपति कर्ण कुँवर, अछामका निर्माण व्यवसायी तथा प्रदेश सांसद गोविन्द कुँवर, लक्ष्मण कुँवर, अर्का ठेकेदार मिन बहादुर कुँवरलगायत छन ।

जाल, झेल र षडयन्त्रमा रावललाई कसैले पनि उछिन्न नसक्ने नेकपाका नेता कार्यकर्ताहरू बताउछन । आफ्ना भनाई र विचारसंग असहमति राख्ने साना ठूला भूमिकामा रहेका जोसुकै नेता कार्यकर्ताहरूलाई पनि भीमबहादुर रावल देखि सहँदैनन् भन्ने गुनासो कार्यकर्ताहरूको रहेको छ । रावल तुच्छ व्यवहारमा उत्रिने गरेका कारण सुदूरपश्चिममा उनको स्थिति दिनानुदिन कमजोर बन्दै गएको नेकपाका कार्यकर्ताहरू बताउछन् ।

आलोचना सुन्न नसक्ने र सुझाव ग्रहण गर्न नसक्ने रावलको प्रवृत्ति नै बनेको उनलाई चिन्ने जान्ने बताउछन । हार्दिकता नभएका सुख्खा स्वभाव रावलमा बढ्दै गएको प्रति नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गरिरहेको खबर छ । आजकाल उनीसंग मानिसहरू टेलिफोनमा कुरा गर्न डराउने गरेको र जम्का भेट हुँदा पनि कुरा गर्न हिच्किचाउने गरेको नेकपाका एकजना नेताले बताए ।

ती नेताले भने आफ्ना कुरा मात्र सही अरु सबैका कुरा गलत देख्ने सुदूरपश्चिम इन्चार्ज रावल केन्द्रीय राजनीतिमा पनि दिनदिनै विवादस्पद अभिव्यक्तिका कारण आलोचित बन्दै गइरहेका छन ।

आफू निकटसंग कहिले प्रधानमन्त्रीको दाबेदार त पार्टीको अध्यक्षको दाबी प्रस्तुत गर्दै आएका रावल नेकपाको महासचिव हुन नपाएको रिसमा पार्टी एकीकरण यता नेता, पार्टी र सरकारको खुलेर बिरोध गर्दै आएका छन । उनको यो विरोध गर्ने प्रवृत्तिका बारेमा प्रदेशका एक नेताले टिप्पणी गरे ‘‘मरता क्या नही करता’’ भन्ने हिन्दी उखान जस्तै प्रदेश इन्चार्ज रावलको दिनदिनै साख गिर्दै गएको छ । यस्तो अवस्थामा उनको मानसिकता गडबडी मच्चाउने मात्र रहेको देखिन्छ । उनलाई थाहा छ अब प्रदेशमा अरु पनि राम्रा नेताहरूको विकास हुँदैछ । (साँघु साप्ताहिक)