Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नक्कली कसमेटिक (सौन्दर्य)का सामान आयात गरी बिक्रीवितरण तथा सस्तो र न्यून गुणस्तरको सामानलाई विभिन्न ब्राण्डको नाममा बजारमा पु-याउने १६ जना कसमेटिक व्यापारी र उनीहरुले सञ्चालन गरेका फर्महरुलाई आर्थिक लेनदेनमा उन्मुक्ति दिइएको छ । ती व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीहरुको मिलेमतोमा उन्मुक्ति दिइएको हो ।

महानगरीय प्रहरीपरिसर काठमाडौंको अनुरोधमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ भन्दा बढी दुई नम्बरी गर्ने र कालोबजारी गर्ने व्यापारीलाई पक्राउ पुर्जी जारी गरे पनि तीन जना व्यापारीलाई मात्र पक्राउ गरी अन्यलाई उन्मुक्ति दिएको हो । प्रशासनले आर्थिक लेनदेनमा मुद्दा मिलाएको पाइएको हो । यसरी लेनदेनमा मुद्दा मिलाइएकाहरुमा ठूलो मात्रामा कसमेटिक (सौन्दर्य) सामानको आयात तथा कारोबार गर्ने सरिया इन्टरनेशनलका सञ्चालक कैलाशचन्द्र सरिया, जीडी इन्टरनेशनल प्रालिका सञ्चालक मनिष अग्रवालसहितका दर्जन कसमेटिक व्यापारीलाई मिलेमतोमा एक लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

कालोबजारी तथा सामाजिक अपराध मुद्दामा महानगरीय प्रहरी परिसरमार्फत जिल्ला सरकारी वकिलको कार्यालयले यही माघ ७ गते दायर गरेको मुद्दामा फरार भनिएका अभियुक्तहरुबाट निवेदन लिँदै सामान्य बयान गराउँदै प्रतिव्यक्ति एक लाख धरौटीमा उन्मुक्ति दिइएको हो । वादी नेपाल सरकार भएको कालोबजारी तथा सामाजिक अपराध मुद्दामा सरिया इन्टरनेशनलका सञ्चालक सरिया, जीडी इन्टरनेशनल प्रालिका सञ्चालक मनिष अग्रवाल, बालाजी ट्रेडिङ कन्सर्नका श्याम प्रसाद अधिकारी, शक्ति ओभरसिजका ललित सारडा, बालाजी ट्रेडका सरिता गोयल, न्यू सिमा एक्जिम टे«डका सिम्पल अग्रवाल, गोलो शक्ति इन्टरनेशनलका सीमाकुमारी लाठ, एबी इन्टरनेशनलका अभिलाश अग्रवाल तथा भवानी चौलागाईंलगायतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक लाख धरौटीमा उन्मुक्ति दिएको हो । २०७५ पुस १३ गते कसमेटिक व्यापारको प्रमुख व्यापारिक केन्द्र राजधानीको इन्द्रचोकस्थित मख्खन र यट्खा क्षेत्रमा रहेका तीन कसमेटिक (सौन्दर्य)का व्यापारीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।

पक्राउ पर्ने व्यापारीमा सूर्य सेस ट्रेड लिंकका सञ्चालक हेमराज जैन (बरमेचा), अम्बिका स्टोरका सञ्चालक काशी लाठ र गिलो शक्ति इन्टरनेशनलका सञ्चालक चेतन गोयल थिए । प्रहरीकोे करिब एक महिनाको अनुसन्धानपछि कालोबजारी तथा सामाजिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा क्षतिपूर्ति र हदैसम्मको कारबाही माग गर्दै मुद्दा (अभियोगपत्र) पेस ग-यो । अभियोगपत्रमा कसमेटिक (सौन्दर्य) क्षेत्रमा काम गर्ने झण्डै दुई दर्जन व्यापारीहरुलाई फरार भनेर पेस गरियो । थुनामा रहेका जैन, गोयल र लाठ पनि यसअघि नै धरौटीमा छुटिसकेका छन् ।

मुद्दा दायर गरिएका सबै व्यापारीले नक्कली कसमेटिकको कारोबार गरेको, नक्कली र न्यून गुणस्तरको सामानलाई ब्राण्डेड सामानको लेबल लगाएर बिक्रीवितरण गरेको तथा कालोबजारी गरेको आरोप लगाइएको थियो । जिल्ला प्रराशासन कार्यालय काठमाडौंले यही माघ १० गते यता १३ व्यापारी र फर्महरुलाई मिलेमतोमा उन्मुक्ति दिइसकेको छ । यता नेपाल कसमेटिक संघका अध्यक्ष रंजित पौडेलले के कारणले व्यापारीहरुलाई पक्राउ पुर्जी जारी गरियो, के कारणले एक लाख धरौटीमा छाडियो भन्दै आपत्ति जनाएका छन् । व्यवसायी संघले यी सबै व्यापारीलाई यथार्थ विवरण संघलाई जानकारी गराउन पत्र समेत काटेको पौडेलले बताए ।