Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का प्रतिनिधिसभाका सांसद एवम् सहमहामन्त्री रेशमलाल चौधरीले टीकापुर हत्याकाण्ड मच्चाएर भूमिगत भएका बेला तेस्रो पत्नी विवाह गरेको रहस्य बाहिर आएको छ ।

कैलालीको टीकापुर घटनामा नाबालकसहित नौ जना सुरक्षाकर्मीको सामूहिक हत्या गरेको घटनामा मुख्य आरोपीका रुपमा जेलमा रहेका चौधरीका तीन वटा पत्नी रहेको स्रोतले जनाएको छ ।
पहाडे मूलकी पहिलो पत्नीबाट बच्चाको जन्म नभएपछि चौधरीले दोस्रो श्रीमती विवाह गरेका थिए ।

चौधरीले पहिलो पत्नी (जेठी) सँगको सल्लाहमै आफ्नै थर (थारु) की महिलालाई विवाह गरेका थिए ।
त्यसपछि चौधरीले दुबै पत्नीलाई कैलालीमै राम्रै व्यवस्था गरेर राखेका थिए । टीकापुर हत्याकाण्ड भएपछि फरार भएका बेला राजपाका नेता एवम् सांसद चौधरीले प्रेम विवाह गरेको खुलासा भएको छ ।

तीन वटी पत्नीका पति चौधरी अहिले काठमाडौंको डिल्लीबजार कारागारमा जीवन विताइरहेका छन् । चौधरीलाई भेट्न तीन वटै पत्नी पालैपालो जेलमा आउने गरेको स्रोतको भनाइ छ ।
भूमिगत भएका बेला विवाह गरेकी कान्छी पत्नीसँग चौधरीको सम्बन्ध धेरै नजिक रहेको एक आफन्तले बताए । मीठो बोल्ने क्षमता भएका चौधरीका तीन पत्नीका बारेमा राजपा नेपालका शीर्षनेताहरूलाई समेत थाहा छैन ।

तर, केही दिन अगाडि राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्यले सांसद चौधरीको पक्षबाट वकालत गर्दै आएका अधिवक्तालाई फोन गरेर पत्नीहरुको बारेमा सोधीखोजी गरेको स्रोतले जनाएको छ ।

सांसद चौधरीका कानून व्यवसायीले तीन पत्नी रहेको खबर सुनाएपछि राजपा नेपालको बबरमहलस्थित पार्टी मुख्यालयमा ठूलो खैलाबैला भएको थियो । नेपाली सेनाका उच्च अधिकारीका साथै राणा परिवारसँग निकट सम्बन्ध राख्ने सांसद चौधरीलाई भूमिगत भएका बेला गीतकार सिन्धु राणाले संरक्षण गरेको आरोप पनि लागेको थियो । नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिद्वय स्व.सत्चितशम्शेर राणा र गौरव शम्शेर राणालगायतले संरक्षण गरेको आरोप लागेको थियो ।