Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

वीरगंज । प्रहरीको काम गैरकानूनी क्रियाक्लाप नियन्त्रण गर्ने हो । अझ सीमा क्षेत्रमा खटिने प्रहरीबाट त सरकारले राजश्व बृद्धिमा लागेका निकायहरूलाई सघाओस् भन्ने अपेक्षा गरेको हुन्छ । सरकारको अपेक्षा एउटा हुन्छ प्रहरी कर्मचारी अर्कै थोक गर्छन । त्यस्तै प्रहरीले उल्टासीधा काम गर्ने जिल्ला हो पर्सा ।

देशको सबैभन्दा ठूलो भन्सार रहेको यस पर्सा जिल्लामा सरुवा भई आउनका लागि प्रहरी कर्मचारीहरू लाखौ रुपैयाँ थैली बुझाउन तयार हुन्छन् । लाखौको थैली बुझाएर जिम्मेवारी सम्हाले पछि लगानी त असुल गर्ने प¥यो । त्यसकारण पर्सा जिल्लामा टोलीका टोली घुमुवा प्रहरीहरू दिनरात पैसा असुली कार्यमा खटिएका देखिन्छन् ।

पर्सा जिल्लाको प्रहरी प्रमुखमा एसपी रेवती ढकाल आएपछि यस्ता घुमुवा टोलीहरूको मनपरी झन बढेको र सीमा तस्कर प्रोत्साहित भएको वीरगंजका सर्वसाधारणहरू बताउछन । सीमा नाकाहरूबाट हुने तस्करीको लाइन मिलाउन वीरगंज महानगरपालिकाभित्र रहेका विभिन्न ट्रान्सर्पोट र तस्करहरूले एसटीएफका दिलिप सिंहलाई जिम्मा दिएको खुलेको छ । सिंहले पर्साका डीएसपी मानबहादुर राई र प्रदेश प्रहरी प्रमुखलाई तस्करहरूबाट मासिक रकम उठाएर बुझाउने गरेको स्रोतको भनाई छ ।

वीरगंज भन्सार, ईनर्वा, छपकैया, भकुवा र सिर्सिया नाकाबाट कपडा, केराउ र मरिचको तस्करी गर्ने तस्करहरूले एसटीएफका दिलिप सिंहलाई रकम उठाउदा मोवाइलमा गरेको कुराकानीको अडियो रेकर्ड गृहमन्त्रालयका विभिन्न निकायहरूमा पठाइएको स्रोतले बताएको छ । प्रहरी प्रधान कार्यालयले सिंहलाई ६ महिना अघिमात्र सिन्धुली सरुवा गरेको थियो तर वीरगंजका तस्करहरूसंग आर्थिक मामिलामा राम्रो समन्वय गर्ने भएकाले प्रहरी अधिकारीहरूका लागि सिंह रोजाईमा पर्दै आएको प्रहरी स्रोत बताउछ । तस्करहरूको जोडबलमा उनको सरुवा नै रोकेर वीरगंजमा एसटीएफमा राखिएको थियो ।

त्यसैगरी फुटकर तस्करहरूबाट क्राईम ब्रान्चका घुमुवा संजय जैसवाल र राजेश यादवले महिनावारी उठाउने गरेको समाचार स्रोतको भनाई छ । यी दुबै घुमुवा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका विश्वासपात्र रहेको स्रँेत बताउछ । जैसवाल र यादवले एसपीको समेत नाम लिंदै महिनावारी असुल्ने गरेको पर्सा जिल्ला प्रहरी कार्यालय स्रोत बताउछ ।

वीरगंजका एकजना कपडा तस्करले मासिक ५० हजार रुपैयाँ महिनावारी दिंदै आएकोमा यादव र जैसवालले अब हाकिम सा’वले मासिक १ लाख २० हजार माग्नु भन्नु भएको छ भनेपछि ती तस्करले प्रहरीको पोल खोल्दै हिंडेको वीरगंजमा चर्चा छ ।

तस्करहरूले सिमावर्ती सहर रक्सौलबाट सर्टिङ सुटिङको कपडा, ईलोकट्रोनिक्स पार्टपुर्जा, हार्डवेयरलगायत मेशिनरी सामानहरू प्रहरीकै सहयोगमा नेपालतर्फ अवैध तरिकाले भित्र्याईरहेका छन् भने नेपालबाट मरिच, केराउ भारततर्फ तस्करी गरिरहेका छन् । त्यसैगरी पर्सा जिल्लाको ग्रामिण नाका अलौ, सिर्सिया, अमरपट्टी, जानकीटोला, भिस्वा, बुढगाईलगायतको नाकाहरूबाट ठूलो मात्रामा कपडाको तस्करी भइरहेको स्थानीयवासीले खबर गरेपनि प्रहरीले कुनै सुनुवाई गरेको छैन ।

सीमा नाकाहरूमा हुने तस्करीको बारेमा सञ्चार माध्यमहरूमा समाचारहरू आएपछि प्रहरीले केही समय सक्रियता बढाए जस्तो गर्छ तर पछि सावधानीपूर्वक सामान ओसारपसार गर्न तस्करहरूलाई नै उपाए सिकाउने गरेको वीरगंजका एकजना व्यवसायी बताउछन ।
साँघु