•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारीहरूले बिहानको दुई घण्टा अतिरिक्त काम गर्नका लागि ५ सय रुपैयाँ भत्ता चाहिने माग गरेका छन् ।

कर्मचारीहरूको बैठकले सो निर्णय गर्दै सोही व्यवहोराको जानकारी प्रधानमन्त्री कार्यालयमा पठाइसकेका छन् । यसअघि राष्ट्रिय स्तरको प्रयोगशालामा विहान ७ बजेदेखि नै नमुना संकलन कार्य हुनुपर्ने भन्दै सर्वसाधारणले प्रधानमन्त्री कार्यालय अन्तरगर्तको हेल्लो सरकारमा ध्यानाकर्षण गराएको थियो । उक्त गुनासोलाई हेल्लो सरकारले स्वास्थ्य मन्त्रालय हुँदै जनस्वास्थ्य प्रयोगशाला सम्म पु¥याएको थियो ।

प्रधानमन्त्री कार्यालयबाट चासो दिएपछि जनस्वास्थ्य कार्यालयका कर्मचारीहरू आफैँ बैठक बसेर अतिरिक्त सेवाका लागि अतिरिक्त सुविधा चाहिने बताएका हुन् । उनीहरूले गरेको निर्णयमा भनिएको छ, ‘विहान ७ बजे देखि ९ बजेसम्म गरी दुई घण्टाको सेवा उपलव्ध गराए वापत सरकारले खटिएका कर्मचारीलाई प्रतिदिन ५ सय रुपैयाँका दरले भत्ता दिनुपर्छ । अन्यथा सम्भव हुँदैन ।’ लेखा अधिकृत देखि सेकुरिटीगार्ड समेत सहभागी भएको बैठकले विद्यमान अवस्थामा दैनिक खाजा भत्ता २५० हुने व्यवस्था भएको भए पनि यसपटक नपाएको भन्दै अतिरिक्त सेवा दिन नसकिने स्पष्ट पारेका हुन् ।

पहिलेको संगठन संरचनामा चौथो, पाँचौँ र छैटौँ तहका गरी २५ जनाको दरबन्दी भएकोमा हाल नयाँ दरबन्दीमा संख्या घटाएर १२ मा झारिएको भन्दै सेवा थप्न गाह्रो हुने उल्लेख गरेका छन् ।

त्यस्तै, यस सम्बन्धमा आवश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गर्ने र सोही बमोजिम बजेट विनियोजन भए यथासिघ्र बिहान ७ बजेदेखि ल्याव परिक्षणको लागि नमुना संकलन काम सुरु गर्ने पनि जनाएका छन् ।