Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारी कर्मचारी संघ छाडेर प्रदेश–स्थानीय तहमा जानै चाहेनन् । मुख्य सचिव, सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजन टुंगिँदा कर्मचारी मोह संघमै देखिएको हो ।

६ सय ६२ सहसचिवको समायोजन गर्दा ५६० ले संघ रोजे जबकि १०२ जना प्रदेश र १ जना मात्रै स्थानीय तह जान राजी भए ।

प्रशासन सेवाका उपसचिव र शाखा अधिकृतको अवस्था पनि उस्तै रह्यो । समायोजन गरिएका ८४८ उपसचिवमध्ये ८३६ जनाले संघ, ८ उपसचिवले प्रदेश र ४ जनाले स्थानीय तह रोजे ।

२ हजार ८८९ शाखा अधिकृतमध्ये २ हजार ३४१ जनाको संघमा समायोजन भएको छ । प्रदेशमा ३५० र स्थानीय तहमा १९८ जनाको समायोजन गरिएको छ । मुख्यसचिव र ५६ सचिवले समायोजनको पत्रसमेत पाइएसकेका छन् ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना गरी एक लाख ३८ हजार एक ७८ कर्मचारीको दरबन्दी कायम गरी समायोजन गरिरहेको छ । हाल ८९ हजार निजामती, १७ हजार स्थानीय तह र अन्य सेवाका २ हजार गरी १ लाख १९ हजार कर्मचारी कार्यरत छन् ।

समायोजनको सम्पूर्ण काम फागुन ३ भित्र सक्ने गरी काम तीव्रतासाथ भइरहेको संघीय मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । कर्मचारीले पुस ११ देखि माघ २ सम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए । समायोजन पत्र पाएको २१ दिनभित्र कर्मचारीले खटाइएको ठाउँमा अनिवार्य हाजिर हुनुपर्छ ।