Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । लामो समयदेखि विभिन्न कार्यक्रम महोत्सव र डान्सबारमा नाच्दै आएका राजकुमार तामाङ र प्रिया लामा श्रीमान्–श्रीमती हुन् । उनीहरु राजधानीका केही डान्सबारमा नाच्दै आएका छन् । उनीहरुसँग रात्रिकालीन संवाद :

डान्सबारमा कसरी आउनुभयो ?
गाउँमा पढ्दै गर्दा स्कुलमा डान्स गर्ने, हिरोको जस्तो फाइट देखाउने गर्थेँ । स्कुलमा पढ्दा साथीहरुले तँ काठमाडौं गइस् भने ठूलो कलाकार बन्छस् भनी हौसाउँथे । यसरी हौसाउँदा हो कि क्या हो जस्तो लाग्थ्यो ।

कक्षा ६ पढ्दै गर्दा फेल भएँ । यो ५१ सालको कुरा हो । फेल भएपछि घरमा जाउँ भने बाउले फेल भयो छोरा भनेर कुट्लान भन्ने डर लाग्यो । डरै डरमा भागेर काठमाडौं आएँ । काठमाडौं आएपछि बाउले मलाई कुट्ने पनि भएनन् । काठमाडाैं आएपछि केही पनि काम पाइनँ ।

नपाएपछि गाडीको खलाँसी भएँ, अरू के–के गरें गरें । रेस्टुरेन्टमा डान्स हुन्छ भन्ने थाहा थिएन । एकपटक ठमेलको बाटो हिँडिरहेको थिएँ । मान्छेहरु भीड लागेका थिए । ओए राजेश हमाल आउँदैछ भनेर त्यहाँ केटाकेटीहरु रमाइरहेका थिए । मैले त्यहाँका केटाकेटीहरुलाई राजेश हमाल त फिल्मको हिरो हो तिमीहरुले भेट्छौ भनेर सोधें ।


डान्सबारमा नाच्दै आएका राजकुमार तामाङ र प्रिया लामा
उनीहरुले राजेश हमाल त हाम्रो दाइ हो । अहिले दाइ आएर हामीलाई बिस्कुट पनि दिन्छ । नाच्न पनि दिन्छ नाचेपछि राम्रो लाग्यो भने फिल्ममा पनि लान्छ भने । म पनि राजेश हमाललाई भेट्न उनीहरुसँगै आढेस लागेर बसें ।

अनि ?
त्यो बेलामा त्यही एकजना राम दाजु भन्ने हुनुहुन्थ्यो । उहाँ कलाकार पनि हुनुहुन्छ । उहाँले ठमेलमा खुकुरीहरु पनि बेच्दै हिँड्नुहुन्थ्यो । उहाँले मलाई काठमाडांै गेष्ट हाउसमाथि राजेश हमालको अफिस छ । त्यहाँ हिँड भन्नुभयो । म उहाँले भनेको ठाउँमा गएँ । मेरो मनमा आज हिरो राजेश हमाल भेट्दैछु भनेर यति धेरै ऊर्जा आएको थियो कि कुरै नगराैं । लरतरो मान्छेले राजेश हमाललाई भेट्न सकिँदैनथ्यो । राजेश हमाल अगाडि ठ्याक्क भेट्दा मेरो खुट्टा थररर काम्यो । राजेश हमालले भाइ के भयो किन कामेको भन्नु भयो ।

दाइ मलाई पनि कलाकार बन्न मन लागेको छ भनें । तिमीलाई नाच्न आउँछ भन्नु भयो । आउँछ भनें । उसो भए लु हिँड त म एक ठाउँमा कुरा गर्दिन्छु भन्नुभयो । ठमेलमा रहेको काठमाडांै गेष्ट हाउसको उतापट्टि टुरिष्टहरु रहेका थिए । त्यहाँ नाच भन्नुभयो । त्यो बेलामा ‘कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम’ बोलको गीत चर्चामा थियो । म त्यो गीतमा नाचेँ । भाइको डान्स राम्रो रहेछ भनेर भरे एक ठाउँमा जानु पर्छ भन्नुभयो । बेलुका नयाँबानेश्वरमा रहेको एभरेष्ट क्यासिनोमा ल्याउनुभयो । राजेश दाइले त्यहाँका मालिक्नी म्यामलाई चिनाउनुभयो । उहाँले डान्स हेरुम न भन्नु भयो । सबैले डान्स मन पराइदिनुभयो । उहाँले नै १५ हजार दिनुभयो । त्यहाँ म ६ वर्षसम्म नाचेँ ।

अनि तपाईंले आफ्नो जीवन संगिनीलाई डिस्को, डान्सबार तिरबाटै नाच्दा नाच्दै फेला पार्नुभएको हो कि अन्यतिरबाट ?
हाम्रो भेट डान्सबार, डिस्कोमा भएको होइन । उनी पनि डान्सर थिइन् । उनले पनि अरुलाई डान्स सिकाउने गर्दिरहिछिन् । म डान्सबारमा मात्र सीमित थिइनँ । त्यो भन्दा बाहिर हुने डान्स कम्पिटिसनमा पनि भाग लिन्थेँ । उनको र मेरो सिक्किममा भएको एउटा डान्स कम्पिटिसनमा भेट भएको थियो । त्यहाँ हामी डान्स गर्दागर्दै धेरै ठाउँमा भेट हुन थाल्यौँ । भेट हुन थालेपछि डान्स गर्दागर्दै लभ परेर बिहे गरेको हुँ ।

प्रियालाई प्रश्न गरें ? डान्सबारमा पनि नाच्ने थाहा थियो ?
सिक्किममा हामी हरेक गीतहरुमा नाच्ने गथ्र्यौ । धेरैले हाम्रो जोडीलाई मन पराउनु भयो । उहाँ पहिला खासै बोल्नु हुँदैन थियो । मान्छे लुरे लुरे हुनुहुन्थ्यो । अहिले मात्रै मोटाउनुभएको हो । उहाँले काठमाडांैमा डान्सबारतिर काम गर्छु त भन्नु भएन । फिल्म तिर उहाँले काम गरेको भन्ने सुनेको थिएँ । हामी दुवै जना डान्समा अब्बल नै थियाैं । उहाँ (आर के तामाङ) सोझो खालको मान्छेले मलाई पनि तिमीले यो मान्छेसँग बिहे गर्यौ भने फिल्ममा नचाउँछ, खेलाउँछ भन्ने भयो । राम्रो लाग्यो र बिहे पनि गर्यौ ।

अनि प्रियाजी कसरी डान्सबार पुग्नु भयो त ?
म झापा बसेको सिक्किमको मान्छे । गाउँमा काठमाडौंमा मान्छे बेच्छन् भन्ने हल्ला थियो । म कहिल्लै काठमाडौं नआएको । डराइ डराइ उहाँसँग काठमाडौं आएँ । उहाँले वेस्टर्न डान्सबारमा लैजानुभयो । तिम्रो डान्स हेरुम पहिला भन्नु भयो त्यहाँको साहुले । हामीले डोएट डान्स गर्यौँ । डान्स गरेपछि काम दिनु भयो ।

मैले आफ्नो कला प्रदर्शन गर्न लाजै मानिनँ । प्रायः हामी दुई श्रीमान श्रीमती नै नाच्थौँ । गेष्टहरु आउने ओहो ! कति राम्री मान्छे आएकी रहेछिन् भन्थे । कतिले निरुता सिंह पनि डान्सबारमा नाच्न थालिन् कि भन्ने गर्नु हुन्थ्यो । अहिले पनि कतिले निरुता सिंह नै भन्नु हुन्छ ।

यो क्षेत्र अलिक नराम्रो छ भनिन्छ । प्रियाजी तपाईंलाई त्यस्तो लागेन ?
लागेन । मान्छेको हेर्ने नजर मात्र फरक हो । मैले मेरो कला बेचेको हो, शरीर बेचेको होइन । डान्सबारमा अनेक थरिका मान्छेहरु आउने गर्छन् । कोही टेन्सन भएको मान्छे टेन्सन फ्री गर्न आउँछन्, कोही रमाइलोका लागि आउँछन् । यहाँ उनीहरुसँग कसरी बोल्ने र उनीहरुसँग आफू कसरी सुरक्षित हुने भन्ने हो । डान्सबार, डिस्को भनेको नराम्रो होइन । केही मान्छेले गर्दा बिग्रँदै गएको हो कि जस्तो लाग्छ ।

डान्सबारमा प्रायः केटीसँग केटाहरुले नम्बर माग्ने, फोन गरेर घुम्न जाउँ भन्ने गर्छन् भन्ने सुनिन्छ । तपाईंलाई कसैले नम्बर मागेनन् ?
डान्सबारमा पुगेपछि नम्बर त मागिहाल्छन् नि । तिम्रो नम्बर देउ न । तिमीसँग बोल्न मन लागेको छ, घुम्न जानु पर्छ भनेर माग्ने धेरै थिए । मैले मेरो नम्बर दिएको पनि छु । कतिले फोन गरिरहन्छन् । मेरो श्रीमान्सँग भाइ तिमीसँग नाच्ने बैनीको नम्बर देउन भनेर माग्ने पनि छन् । उहाँले पनि दिनुहुन्छ । उनीहरुलाई बोल्न रहर हुन्जेल बोल्छन् ।

श्रीमानकै अगाडि तपाईंको नम्बर माग्दा श्रीमानले गाली गर्नुहुन्न ?
पहिला–पहिला त रिसाउनु हुन्थ्यो । उहाँलाई मेरो बानी थाहा छ, उहाँको बानी मलाई थाहा छ । कसैसँग बोल्दैमा श्रीमान् बिग्रियो, श्रीमती बिग्रिइ भन्ने हुन्न । डान्सबार भनेको यस्तै हो । दर्शकहरुलाई नाचेर रमाइलो गराउने हो । डान्स हेर्न आउने मान्छेहरु रमाइलोका लागि हो । कोही रमाइलो मान्न आएका हुन्छन् । आफू ठिक ठाउँमा रहेर काम गर्नुपर्छ । फेरि म नचिनेको मान्छेसँग बस्दिन । यसले बढी टिप्स देला भन्ने लाग्दैन । एकपटक कार्यक्रममा झापा जाँदा एकजना दाइले मेरो श्रीमानसँग तिमीसँग नाच्ने बैनी मिलाइदेउ म कार दिन्छु समेत भनेछ ।

आरके जी, आफ्नी श्रीमती अरुसँग बसेको, बोलेकोे देख्दा मन कटक्क खाँदैन ?
किन नहुनु । पहिला त हुन्थ्यो नि । निकै रिस उठ्थ्यो । कतिसँग त झगडा पनि गरेको छु । कतिपयले ‘तिमीसँग नाच्ने च्याक बैनी छ नि, त्यो मिलाइदेउन पैसा दिन्छु’ समेत भन्छन् । कतिले तँलाई यति पैसा दिन्छु त्यो बैनीसँग म बिहे गर्छु समेत भने । तर यो क्षेत्र यस्तै हो । आफूमा विश्वास भयो भने सबै सामान्य भइहाल्छ ।

नाचेर दुवैले कति जति कमाउनु हुन्छ ?
श्रीमान श्रीमतीले एक महिनामा ४० हजार जति बचाउँछाैं । यही जम्मा गरेको पैसाले झापामा घडेरी किनेका छौँ । काठमाडौंमा त किन्न सकिएन अनि पूर्व्तिर नै किन्यौँँ । अब अलिकति पैसा जम्मा गरेर घर बनाउने सोेचमा छौँ । हामीलाई कतिले चिने कतिले चिनेका छैनन् । यहीँबाट केही पैसा जम्मा गरेर सिरियल बनाउने सोचमा पनि छौँ ।

डान्सबार कस्तो लाग्छ आरकेजीलाई ?
राम्रो ठाउँ हो । म त डान्सबारका साहुहरुलाई धन्यवाद नै दिन्छु । धेरै स्टुडेन्टहरु काम नपाएपछि डान्सबार छिरेर सुध्रेका छन् । कतिपय साहुहरुले यो गेष्टसँग जा यति पैसा आउँछ, यो मान्छेलाई तैंले मनाउनु पर्छ भन्दैन । कतिपय चेलीहरु नै यो मान्छे आएछ, १०, १५ हजार ल्याएको होला । यसले लग्यो भने जान्छु भन्ने पनि छन् । त्यसैको छापले नराम्रो सोच्नेहरु पनि छन् ।

अनि प्रियाजी, छोटा ड्रेसमा नाच्न अप्ठ्यारो लाग्दैन ?
नाचअनुसारको ड्रेस लगाउने हो । पूरै लुगा खोलेर नाच्ने होइन । मैले गीतअनुसार ज्योति मगरले लगाएर नाच्ने जत्तिको ड्रेस लगाउने गरेकी छु । यो भन्दा छोटो लाउँदिन । कहिलेकाहीं टुपिसमा नि नाचिन्छ । फेरि टुपिस भन्दैमा शरीरका लुगा नै नहुने गरी फिल्ममा देखाए जस्तो गरी भने नाच्दिनँ ।

पहिला त विकिनी डान्स पनि हुन्थ्यो रे हो आरकेजी ?

थियो नि । रातोपुल ओरालोमा एउटा रिमझिम डान्सबार थियो । अहिले डान्सबार बन्द भयो । त्यहाँ काजल भन्ने एउटी चलेकी डान्सर थिइन् । त्यहाँ डान्सबारमा राति १२ बजेपछि सबै डान्सरहरुलाई घर पठायो । काजल बैनी र आरके भाइ मात्र बस्ने भनेर साहुले भन्यो । अब त्यो काजलसँग के कुरा मिलायो त्यो त थाहा भएन । ग्लामर डान्स छ भन्ने कुरा भयो । मलाई पनि यो ग्लामर डान्स थाहा थिएन । कस्तो खालको रहेछ भन्ने लागेको थियो ।

त्यो काजल बैनीले नाच्दानाच्दै लुगा सबै फुकालिन् । सुटकेसमा पैसा लिएर आएका केही ग्राहक थिए । पैसा त बुरुरु झार्न थाले स्टेजमा । म त छक्क परेँ । त्यो नाङ्गो नाच हेर्न नसकेर म बाहिर मात्र के निस्केको थिएँ । पुलिस त झ्याप्पै अगाडि आइपुग्यो ।

पैसा जति बटुलेर हत्त न पत्त एउटा कुनामा फ्याकेको थिएँ । त्यो बैनीले कति पैसा बटुलिन् थाहा भएन । मलाई साहुले ५ हजार दिन्छु भनेको थियो । अलि अलि पैसा बटुलेर गोजीमा हालेँ । बाहिर पुलिसले घेरा हालेको थियो । ३ तला माथिबाट पानीको पाइपमा समाएर त्यो बैनीलाई काँधमा टेक्न लगाएर तल झारेर भागेका छाैं । पुलिसले डान्सबारको साहु र र गेष्टलाई समातेर लगेछ । अहिले भने त्यस्तो देखेको छैन ।
शुक्रबार साप्ताहिकबाट