काठमाडौं । डान्सबारमा नाचेर नै कलाकारमा लागेका हाँस्य कलाकार राजेन्द्र गिरी (जादुगर महाराज) ले थुप्रै सिरियलमा अभिनय गरेका छन् ।

‘हर्के हल्दार’ सिरियलमा ‘गुन्दु्रक साँधेर, ‘मेरी बास्सै’मा जादुगर, ‘भद्रगोल’, ‘हाकाहाकी’, ‘माइकल ज्याक्सन’ लगायतमा अभिनय गरेका गिरी डान्सबारमा नाचेर उदाएका कलाकार हुन् । उनले डान्सबारको अनुभव यसरी साटे :

डान्सबारमा प्रवेश
१५ वर्ष अगाडि जब काठमाडाैं आए त्यो समयमा डान्सबारहरु नयाँ–नयाँ खुल्दै थिए । म्युजिक सुन्दा आफूलाई नाचुँ नाचुँ लाग्ने । गीतहरु राम्रा राम्रा बज्ने । मेरो फूपूको बानेश्वरमा अफिस थियो । बेलुका ६ बजेदेखि डान्सबारमा नाच शुरु हुन्थ्यो । म आँटेरै त्यहाँ गएँ र साहुलाई भेटेँ । डान्सबारमा मलाई पनि नाच्ने रहर छ भनें ।


हाँस्य कलाकार राजेन्द्र गिरी
तँलाई कुन कुन डान्स आउँछ भनेर सोध्नुभयो । मैले सबै खाले डान्सहरु गर्छु भनेँ । त्यहाँको डिजेलाई ‘ओए यो भाइ नाच्छ रे हेर हेर’ भन्नु भो । त्यहाँको डिजेले ‘ल ल यो भाइ यहीँ नाच्छ, यहीँ काम पनि गर्छ, डान्सबार हेर्न मान्छे पनि छैनन् यहीँ बस्छ’ भन्नुभयो अनि म त्यहाँ डान्सबारमा काम गर्न थालेँ ।

टिम सर्या सर्यै
डान्सबारमा एउटा, दुईटा लिडर हुन्छ । २,४ जना केटीहरुसहित हामी त्यो डान्सबारमा जाँदैछौ तँ के गर्छस् भनेर सोध्छन् । कति आउँछ दाइ भनेर सोध्ने तँ केलाई चिन्ता लिन्छस् हामी मिलाई हाल्छाँै नि भनेर हिंडिहालिन्थ्यो । डान्सबारमा म नाच्ने मात्र होइन, कहिले डिजेको काम, कहिले कमेडी गर्थे । त्यसैले हाम्रो टिम जुन डान्सबारमा पैसा बढी आउँथ्यो त्यहाँ सरिहाल्ने ।

कलाकार बन्ने एकदमै चाहना । काठमाडौं आएपछि कतै काम पाइएन । काठमाडौंमा टिक्न अरु आर्थिक स्रोत थिएन । कलाकार बन्ने मौकाको खोजीमा १८ भन्दा बढी डान्स रेष्टुरेन्टमा काम गरँे । दिनभरि निर्देशक निर्माताको अघिपछि लागेर हिँड्यो, रात पर्न थाल्यो है भनेपछि कुद्दै कुद्दै डान्सबारमा छिर्थे ।

ठमेलका भिआइपी ग्राहक
अन्तभन्दा ठमेलमा नाच्दा भिआइपी ग्राहक बढी भेटियो । सुटबुट कसेका, चट्ट परेका ग्राहक हुन्थे । कम पैसा बोकेर कोही पनि डान्सबार छिर्दैनथे । हामी त्यस्ताको अगाडि नाचिन्थ्यो । टिप्स पनि ठिकै हुन्थ्यो । केटीहरुको जत्तिकै त नभए पनि उनीहरुको हाराहारीमा मैले कमाउँथे ।

रोयल सम्राट, मेद्यिमा, टाइटनिक, जुगल, चाहना, रोयल गोर्खा, मुस्कान डान्सबारमा नाचें । कति त डान्सबारका नाम फेरिएका छन् । कतिपय दरबारमार्ग र ठमेलमा मसँगै नाच्ने साथीहरु अझै नाचिरहेका छन् ।

पहिलाको बार र अहिलेको बार
त्यो समयमा बारमा जान्छु भन्दा इज्जत गर्थे । कोही कसैको सम्पर्कमा रहने सम्भावना हुँदैनथ्यो । एकले अर्कालाई रेस्पेक्ट हुन्थ्यो । अहिले बारमा जान्छु भन्दा अर्कै सोच्छन् । अहिलेका ग्राहकहरु पनि बारमा जाँदा अर्कै सेन्स बोकेर जाने गरेका छन् ।

त्यहाँ गएसी सबैलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेका छन् । बारमा महँगो पर्ने भएकाले ग्राहकहरु अहिले बाहिरबाटै पिएर जान थालेका छन् । सेक्सका हिसाबले नै मान्छेहरु बार छिर्ने गरेको पाइन्छ । उनीहरु सेन्स नै सेक्सका हुन्छन् । अहिले डान्सबारका ग्राहक घटेका छन् ।

बेला बखत पुरानो सम्झना आउने हुँदा साथी भाइको डान्सबार जान्छु । ५, ६ जना ग्राहक मरेर आइपुग्छन् त्यो पनि बाहिर नै पिएर आउँछन् । यसो अलि अलि इन्जोइ गर्छन् जान्छन् ।
केटीहरु गेष्टसँग लुटपुटिन्छन्

अब बार चलाउन निकै गाह्रो छ । आएका ग्राहकलाई कसरी खुशी बनाउने भन्ने प्रतिष्पर्धा छ । उनीहरुसँग बसेर बाबा भन्दिने, बुढो, बुढा भनेर हुन्छ कि कसरी हुन्छ आफ्नो नजिक बनाउने कोशिस गर्नुपर्ने बाध्यता छ अहिले ।

यसो नगरे त भोलि कसरी पल्काउने, जति सक्दो आफूले गेष्ट तान्न सक्यो उति आफ्नो कमिसन र तलब बढ्छ । साहुको प्रिय बन्न सकिन्छ । नत्र भने त साहुले निकाल्न बेर लाउँदैन । अब गेष्टसँग बसेर खाँदैमा मेरो बुढा भनेर गेष्टसँग अँगालो मार्दैमा कोही ग्राहकसँग जान्छन् नै भन्ने हुँदैन । कोही–कोही जालान् पनि । तर सबै उस्तै हुन्नन् ।

डान्सबारमा गर्लफ्रेण्ड पनि बनाइयो

डान्सबारमा हामीसँगै काम गर्दै थिए । त्यहाँ काम गर्दै जाँदा डान्सबारमा नयाँ–नयाँ केटीहरु आउन थाले । म कहिले काहीँ टिभीमा आउन थालेको थिएँ । एक जना बैनीलाई लिएर विभिन्न स्कुलका कार्यक्रममा सँगै डान्समा जोडी भएर नाच्याैं । टेलिभिजनको सिरियलमा पनि खेलाएको थिएँ । यसरी काम गर्दै जाँदा लभ परेको रहेछ । यसरी हामी हरेक कुरामा सँगै हुन थाल्यौँ ।

यसै क्रममा उनी विदेश गइन् । म यतै थिएँ । फोनमा, फेसबुकमा गफ हुँदै थियो । मैले सिन्धुपाल्चोक घर गएको बेला मसँगै पढेकी केटी विवाह गरें । मैले बिहे गरेँ भनेर उनलाई सम्झाएँ । उनलाई भेटेर नै कुरा गरें । उनले ‘हुन्छ म विदेश जान्छु उता गएसी मेरो मन भुलाउने ठाउँ हुन्छ’ भनिन् । शुक्रबार साप्ताहिकबाट