Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सत्तारूढ संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको तर सहभागी नभएको राष्ट्रिय जनता पार्टी सत्ता कि संघर्ष भन्नेमा अलमल परेका छन् । ‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेस केन्द्रित दल अहिले सत्ता वा संघर्षको अलमलमा देखिएका हुन् ।

सम्झौतालाई झ¥याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो । मधेसका मुद्दामा बेमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहँुदा मधेस केन्द्रित दल कमजोर बन्न पुगेको होकी भन्ने अनुमान लगाउन थालिएको छ ।

मुलुकको राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव पार्ने मधेस केन्द्रित दल आफ्नै मुद्दामा एकताबद्ध हुन नसक्दा अलमल र पार्टीभित्रै दरार उत्पन्न भएको देखिन्छ । यद्यपि, नेताकै भनाइमा पार्टीमा बाहिर आएजस्तो सत्यता छैन । तर, पछिल्ला दिनमा दलगत र पार्टीभित्रकै नेताबीचको खटपट र अलमलले उनीहरूबीचको विवादलाई सतहमा ल्याएको छ ।

सञ्चारमाध्यममा पार्टीगत र सरकारसँगको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । राजपा र फोरमबीच अहिले खटपट चलिरहेको छ । यता सरकारमा रहेको समाजवादी फोरमभित्र पनि विवादका आवाज बढ्दै गएको देखिन्छ । पार्टीभित्रको आन्तरिक द्वन्द्व र सरकारसँगको सम्बन्धलाई व्यवहारमा परिणत गर्न समाजवादी फोरममा पनि खटपट भइरहेको बताइन्छ ।

यता, सरकारलाई समर्थन गरेको राजपाले न त आफ्ना मुद्दालाई अघि बढाउन सक्यो न त सत्तायात्रामै सामेल हुनपुग्यो । यसरी राजपाभित्र अलमल र बेइमेल बढेको देखिन्छ । पार्टीभित्रकै विवादलाई किनारा लगाउन नसक्दा राजपा कमजोर बनेको छ । यसको असर सरकारसँगको सम्बन्ध र पार्टीले अख्तियार गरेको मुद्दामा समेत कमजोर हुने देखिन्छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा कुनै अलमल र बेइमेलमा नभइ बरु पर्ख र हेरको रणनीतिमा रहेको बताए । ‘हामी पर्ख र हेरको अवस्थामा छौँ, सरकारलाई निरन्तर रूपमा घचघच्याईरहेका छौँ, मुद्दा सम्बोधन गर्नुस् नत्र विरोधको बाटोमा जानुपर्ने बाध्यता हुन्छ । तर, पर्खाइको पनि सीमा हुन्छ । धैर्यताको बाँध कुनै पनि बेला टुट्नसक्छ, त्यो अवस्था आउन नदिन सरकार बेलैमा सजक हुनुपर्छ’, उनले भने ।

नेता महतोले सरकारमा आउन आफ्नो पार्टीलाई पटक–पटक सरकारी पक्षबाट आग्रह गरिएको पनि जानकारी गराए । उनले आशा र विश्वासका साथ दुई तिहाइको शक्तिशाली सरकारलाई समर्थन गरेकाले अझै पनि मुद्दा सम्बोधन हुने आशामै रहेको उल्लेख गरे । तर, राजपाले आफ्ना मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा जाने या नजाने विषयको टुङ्गो लाग्ने बताएको छ ।