Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकार नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी नेकपाका क्रान्तिकारी नेता मातृका यादवले पाएका छन् । तर मन्त्रालय र अन्तर्गतका विभागमा नेपाली कांग्रेस समर्थक सहसचिवहरूको हालीमुहाली छ । सहसचिवहरू मधुकुमार मरासिनी, शोभाकान्त पौडेल र दिनेश भट्टराईलाई महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।

ठूला करदाताको प्रमुख हुँदा एनसेलको लाभकर असुली नगर्ने मुख्य भूमिका खेल्ने सहसचिव शोभाकान्त पौडेललाई मन्त्री यादवले दुईवटा महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् । पौडेललाई औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा र प्रशासन तथा संस्थान महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मधु मरासिनीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । औद्योगिक तथा लगानी प्रबद्र्धन महाशाखा प्रमुख सहसचिव दिनेश भट्टराई हुन् ।

तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र उनका विश्वासपात्र ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले टेलियासोनेराको प्रभावमा परेर पूर्वादेश नदिएको आरोप छ । एनसेलका सतिशलाल आचार्य र सचिनलाल आचार्यबाट शुभलाभ लिनेमा सहसचिव पौडेलको पनि नाम लिने गरिन्छ ।

पौडेल सरुवा भएपछि आएका ठूला करदाता कार्यालयका प्रमुख बलराम रिजालले एनसेललाई करीब २३ अर्ब लाभकर तिराएका थिए । एनसेलमा चुडामणि शर्माको सहयोगी भूमिका पूरा गरेका सहसचिव पौडेलमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गरिरहेको स्रँेत बताउछ ।

अख्तियारले भ्रष्टाचार गरी अथाह सम्पत्ति आर्जन गर्ने राजस्व समूहका कर्मचारीहरूको छानबिन गरिरहेको छ । राजस्व समूहका नायबसुब्बाले नै भ्रष्टाचारबाट करोडौं रुपैयाँ सम्पत्ति आर्जन गरेको गुनासोपछि आयोगले छानबिन गरिरहेको छ । राजस्व समूहका नासुदेखि सहसचिव तहसम्मका कर्मचारीको सम्पत्ति भिडाउन अख्तियारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) र राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोग लिइरहेको स्रोतले बताएको छ ।

सहसचिव मरासिनी नेपाली कांग्रेसको सरकारका पालामा अर्थमन्त्रालयमा सबैभन्दा बढी लाभ लिनेमा पर्दछन् । उनी एशियाली विकास बैंकको बैकल्पिक निर्देशकको मासिक १८ लाख अमेरिकी डलर पारिश्रमिक पाउने गरी मनिलामा जागिर खाने भाग्यमानी सहसचिव हुन् । कांगे्रेसका लागि जीउज्यान बाजी लगाउनेहरूले समेत नपाएको लाभ उनले लिइसकेका छन् ।

अर्थमा हुँदा मरासिनी पूर्व अर्थसचिव हुँदै कांग्रेस, माओवादी र विवेकशील साझा पार्टी चाहारिसकेका रामेश्वर खनालका प्रियपात्र मानिन्थे । अहिले उनी पुनः डलर आउने महाबाणिज्यदूत नियुक्त हुनका लागि उद्योग मन्त्रालयमा सरुवा भई क्रान्तिकारी मन्त्री यादवका विश्वासपात्र बन्न सफल भएको स्रोत बताउछ ।

मातृकाको मन्त्रालयका महाशाखाहरूको तस्विर कस्तो छ भने उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले उद्योगीहरूलाई उत्साहित गर्नुपर्नेमा निरुत्साहित हुने खालका काम गर्दैआएका छन् । केपी ओली सरकारको नीति उद्योेग खोल्न प्रोत्साहित गर्ने हो । तर उद्योग विभागका महानिर्देशक सिंहले करोडौं घुस मोलमोलाई गरी उद्योग खोल्न आउनेहरूलाई अनेक बहानामा दुःख दिंदैआएको गुनासो छ ।

उनले विभागको अनुमति दर्ता शाखाका प्रमुखका निर्देशक विष्णु ज्ञवालीमार्फत् खुलेआम असुली गर्दैआएको आरोप छ । निर्देशक ज्ञवालीले हाक्काहाक्की ‘महानिर्देशकज्यूलाई खुसी पार्नुपर्छ’ भनेर सेवाग्राहीसँग घुस माग्ने गरेको दुखेसो उद्योग विभाग परिसरमा पुगेका साँघु प्रतिनिधिसँग पीडितले गरेका छन् ।

त्यसैगरी, पूर्वअर्थमन्त्री डा. रामशरण महतका साला शरद राणा मन्त्री यादवका अर्का विश्वासिला हुन् । राणा उद्योग मन्त्रालय अन्तर्गतको ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका महाप्रबन्धक हुन् । राणा डा. महतकै कृपाले यसअघि पनि गोदाम तथा पारवहन कम्पनीको पनि जीएमका रुपमा बदनाम थिए । तिनै राणालाई नेपाली कांग्रेसको सरकारले ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको महाप्रबन्धकका रुपमा नियुक्त गरेको थियो । प्रबद्र्धन केन्द्रको काम अन्तर्राष्ट्रिय ब्यापार मेला(ट्रेड फेयर) नाममा यूरोप, अमेरिका जस्ता देशमा मानवतस्करी गर्ने हुँदैआएको छ ।

जर्मनीको ह्यानोभर शहर स्थित मेला ग्राउण्डमा गएको जनवरी ११–१४, २०१९ सम्म द वल्र्ड अफ फ्लोरिङ कभरिङ(विशेषगरी गलैंचा)सम्बन्धी अन्तर्राष्ट्रिय व्यापार शरद राणाले केही मानिस छाडेर आएपछि पुनः अमेरिकामा ब्यापार मेला राखी मदरल्याण्ड नामक एनजीओसँग मिलेर प्रतिब्यक्ति २५ लाख रुपैयाँसम्म असुली गर्न दलाल परिचालन गरेको स्रोतले बताएको छ ।

विभिन्न देश हुँदै मेक्सिकोको जंगलबाट अमेरिका छिर्न खोज्ने नेपाली युवाहरू अमेरिकामा अन्तर्राष्ट्रिय मेलाका नाममा जान पाउने भएपछि पैसा खर्च गर्न तयार हुने भएकाले राणाले मेला राखिसकेको स्रोत बताउछ । (साँघु साप्ताहिक)