Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

बाँके । सार्वजनिक बिदाको दिनमा सरकारी गाडी चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि बाँकेका सरकारी कार्यालयका कर्मचारीहरूले त्यसको व्यापक उल्लंघन गरेको पाइएको छ ।

सरकारको नियमविपरीत सरकारी सवारी चलाउँदा जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य लिनुपर्ने हुन्छ । तर, बाँके जिल्ला प्रशासन कार्यालयले नै स्वयं सरकारी नियमको धज्जी उडाउँदै ठाडो उल्लंघन गरेको छ ।

अरूलाई नियम कानुनको परिधिमा राख्नुपर्ने नियमकारी निकायले नै यसरी सरकारी नियमको उल्लंघन गर्दै शनिबार नेपालगञ्जमा विना अनुमति सवारी चलाएको पाइएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिन सार्वजनिक सवारी साधन प्रयोग गर्दा तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको परिपत्र अथवा अनुमति लिनुपर्ने प्रावधान छ ।

सरकारले यसअघि नै सार्वजनिक सवारी साधन नचलाउन आदेश दिइसकेकोछ । यदि चलाउनै पर्ने भए सरकारी मापदण्ड पूरा गरेर चलाउन पाइने व्यवस्था रहेपनि बाँके प्रशासनले उक्त नियमको वेवास्ता गरेको पाईएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालय बाँकेका एक कर्मचारीले भे१ब ३०९ नम्बरको सरकारी मोटरसाईकल व्यक्तिगत प्रयोजनका लागि नेपालगञ्ज बजारमा निर्धक्क कुदाईरहदाँ ट्राफिकको फन्दा परेपछि घटना सार्वजनिक भएको हो ।

बाँके ट्राफिकका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालय बाँके सहित कोहलपुर नगरपालिकाको भे १ ब १४२२, घरेलु तथा साना उद्योग कार्यालय नेपागन्जको भे १ ब ४०७, सिँचाई डिभिजन कार्यालयको भे १ ब ६११ नम्बरको सरकारी प्लेटधारी सार्वजनिक सवारी साधन नियन्त्रणमा लिएको बाँके ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए ।

घरेलु कार्यालय नेपालगञ्जका कर्मचारी ऋषीराम पोखरेल, सिंचाई डिभिजन कार्यालयका राजकुमार बगलेले जिल्ला प्रशासन कार्यालयको अनुमति विनै ती सवारी साधन शनिबारका दिन प्रयोग गरेका थिए ।

बाँकेमा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधीदेखि सरकारी निकायका कर्मचारीले सरकारी सवारी साधनको दुरूपयोग गर्दै आएकाछन् । शनिबारनै सल्यानको सारदा नगरपालिकाको सवारी साधन पनि बाँकेमै ट्राफिकले नियन्त्रणमा लिएको छ । यसअघि हुम्ला नगरपालिकाको सवारी साधन नेपालगञ्ज स्थित वाटरपार्कको खुल्ला मैदानका उक्त नगरका नगरप्रमुख र उनका छोरा स्वयमले सिकिरहेको अवस्थामा फेला परेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यस विषयमा आफूलाई केही जानकारी नभएको बताउदै सार्वजनिक विदाका दिन जिल्ला प्रशासन लगायत जुनसुकै कार्यालयले अनुमति बिना सरकारी सवारी साधन चलाउन नपाउने बताए । उनले यस विषयमा तत्काल बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।